सुदूर नेपाललाई विश्वसँग जोड्दै

गाउँपालिका केन्द्रको विषयमा बैतडी डिलाशैनीका युवाले बुझाए सामान्य प्रशासन मन्त्रीलाई ज्ञापनपत्र

२०७६ मंसिर २, ०६:४४

बैतडीको डिलाशैनी गाउँपालिकाका युवाले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई भेटेर ज्ञापनपत्र बुझाएका छन्। डिलाशैनी गाउँपालिकाको स्थायी केन्द्र सञ्चालन गर्ने विषयमा लामो समयदेखि आन्दोलनरत युवाहरूले ज्ञापन बुझाएका हुन्।

सोमबार मन्त्री पण्डितको कार्यकक्षमा गएर डिलाशैनी संघर्ष समितिका संयोजक जयराज जोशी लगायतका युवाहरूले विगतमा राज्य पुनसंरचना आयोग, विज्ञ टोलीको रायसुझाव तथा सर्वपक्षीय सर्वदलीय निर्णय, डिलाशैनी गाउँपालिकाको कार्यपालिकाको निर्णय र आम गाउँपालिकावासीको मागलाई बेवास्ता गरी वडा नम्बर ७ मा कार्यालय सञ्चालन नगरीकन गाउँपालिका अध्यक्ष, उपाध्यक्षलाई घरपायक पर्ने र केही राजनीतिक व्यक्तिको निहित स्वार्थका कारण वडा नम्बर ३ मा सम्पर्क कार्यालय सञ्चालन गरिरहेको कुरा राखेका छन्।

स्थायी केन्द्र स्थापनाका लागि गाउँपालिकाले अनुरोध गरेअनुसार स्थानीय बासिन्दाले वडा नम्बर ७ मा करिव ८० रोपनी जग्गा समेत उपलब्ध गराइसकेको ज्ञापनपत्रमा उल्लेख छ। आम जनताले विगतका निर्णय कार्यान्वयन हुनुपर्ने मागराखि आन्दोलन गर्दा ७ नम्बर वडामा कार्यालय स्थापनाका लागि घरभाडामा लिएर एक दिन पनि त्यहाँबाट सेवाप्रदान नगरिएको संघर्ष समितिका संयोजक जोशीले बताए।

जनतालाई सेवाप्रवाह नगरी केवल घरभाडामा लिएर अनुत्पादक र अनुपयोगी रुपमा राज्यस्रोतको दोहन भैरहेको संयोजक जोशीको टिप्पणी छ। उनले सम्पूर्ण डिलाशैनी गाउँपालिकाको हितमा विगतमा गरिएका निर्णयका आधारमा समेत वडा नम्बर ७ मा स्थायी केन्द्र स्थापनाको पहलका लागि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री पण्डितलाई ज्ञापनपत्र बुझाएको बताए।
 

कमेन्ट लोड गर्नुस