सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा डम्पिङसाइट व्यवस्थित नहुँदा सास्ती

२०७६ कार्तिक २९, ०२:२५ खबर संवाददाता

डडेल्धुरा सदरमुकाम क्षेत्रमा जम्मा भएको फोहर फाल्नका लागि व्यवस्थित स्थान नहुँदा नगरको सौन्दर्य बिग्रनाका साथै दुर्गन्धको समस्या बढ्न थालेको छ। अमरगढी नगरपालिका–७ को कुयली गाउँमा निर्माण गरिएको डम्पिङसाइटमा फालिएको फोहरको दुर्गन्ध सदरमुकामसम्म फैलिएको छ। झण्डै १५ वर्ष पहिले स्थानीय बासिन्दाको जमीन भाडामा लिई निर्माण गरिएको डम्पिङसाइटमा खुलारुपमा फोहर फाल्ने गरिएको छ। फोहरका कारण नजिकै रहेको धार्मिक क्षेत्र र आसपासका आधा दर्जन गाउँ प्रभावित भएका छन्।

डम्पिङसाइट छेउमै अमरगढी–७ कुयली खोलाको मुहान भएकाले खोलाको पानीमा फोहर मिसिने गरेको छ। स्थानीय बासिन्दाले पशु चौपायालाई खोलाको पानी खुवाउनेदेखि दैनिक सरसफाइका लागि प्रयोगमा ल्याउने गरेका छन्। डम्पिङसाइट हाल गाउँको बीचमा र सडक छेउमा रहेकाले अर्को स्थानमा सारिनुपर्ने या व्यवस्थित गर्नुपर्ने भन्दै स्थानीयवासीले लामो समयदेखि माग गर्दै आएका छन्।

डम्पिङसाइटमा फोहर खुलारुपमा फालिने गरेकाले स्याल र कुकुरको समेत गाउँमा आतङ्क फैलिएको अमरगढी–८ का लोकबहादर कैनीले बताए। डम्पिङसाइट नजिकै हुँदा सुदूरपश्चिमको महत्वपूर्ण धार्मिक क्षेत्र उग्रतारा मन्दिरसमेत प्रभावित भएको उनको भनाइ छ। अमरगढी नगरपालिकाले भने डम्पिङसाइटका लागि उपयुक्त जमिन नपाएको भन्दै खोजी गरिरहेको जनाएको छ। रासस
 

कमेन्ट लोड गर्नुस