डडेल्धुरामा अनशनरत डा.केसीबारे सुदूरपश्चिम सरकारले दिएन चाँसो
आशिष मल्ल
चिकित्सा शिक्षा सुधारका अभियान्ता डाक्टर गोविन्द केसीले डडेल्धुरामा १७ औँ अनसन सुरु गरेको ८ दिन भईसकेको छ।
जिल्ला सदमुकामको एक नीजि घरमा अनसन सुरु गरेका केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि डडेल्धुरा अस्पतालमा भर्ना गरिएको थियो र अहिले स्वास्थ्य अवस्था विग्रिदै गएपछि काठमाडौँ लैजाने तयारी भएको छ।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई ५ औ दिनमा अस्पताल सारिएकोमा अस्पतालले अन्यत्र लैजान सुझाव दिएपछि उनलाई काठमाडौँ लैजाने तयारी भएको छ तर डाक्टर केसी डडेल्धुरामै आन्दोलन जारी राख्ने अडानमा छन्।
‘उनको ब्लड प्रेसर घट्न थालेको, मुटुको चालमा वृद्धि भई समस्या देखिएको, रगतमा अक्सिनको मात्रा घटेको र मृगौलामा समस्या देखिएको छ’ डडेल्धुरा अस्पतालका मेसु डाक्टर जितेन्द्र कँडेलले भने ‘अब पनि उनलाई काठमाण्डौ लगिएन भने उनको ज्याने जाने खतरा छ।’
डाक्टर केसी डडेल्धुरा आएर अनसन बसेको आठौँ दिन भइसक्दापनि सुदूरपश्चिम प्रदेश सरकारले कुनै चाँसो नदिएको आरोप लागेको छ। सुदुरपश्चिमकै स्वास्थ्य क्षेत्रको लागि सत्याग्रह थाले पनि उनको स्वास्थ्यप्रति प्रदेश सरकारले वेवास्ता गरेको देखिएको छ। उनले माग गरेका ७ बुँदा मध्ये पाँचौै बुँदामा डोटी वा डडेल्धुरा मध्ये एक स्थानमा मेडिकल कलेज खोल्नुपर्ने उल्लेख छ। त्यसैगरि छैठौ बुँदामा डडेल्धुरा लगायतका अस्पतालमा तत्काल दरबन्दी अनुसारका चिकित्सकको व्यवस्था गरिनुपर्ने माग छ।
‘सुदूपश्चिमवासीकै लागि सुदूपश्चिममै आएर अनशन बस्दापनि प्रदेश सरकार किन मौन छ ?’ नागरिक समाज डडेल्धुरका सदस्य सचिव टेकराज अवस्थीले प्रश्न गरे। डा. गोविन्द केसीको ज्यानै खतरा देखिदा समेत मौन बस्नु स्विकार्य नभएको उनले बताए। उद्योग वाणिज्य संघ डडेल्धुराका अध्यक्ष लोकराज भट्टले अहिले सम्म प्रदेश सरकारबाट डाक्टर केसीलाई कोही भेट्न समेत नआएको बताए।
अनशनरत डा. केसीलाई भेट्न नेपाली कांग्रेसबाट सुदूपश्चिम प्रदेशका सांसद बनेका कर्णबहादुर मल्ल बाहेक कुनै मन्त्रि तथा सासंद गएका छैनन्। डडेल्धुरामा दैनिकजसो डा. केसीको सर्मथनमा प्रदर्शन भइरहँदा सत्तारुढ नेकपा भने सहभागी बनेको छैन्।