सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकारले ८८ वटा अल्ट्रासाउण्ड मेसिन खरिद गर्दा अनियमितता गरेको आरोप

२०७६ कार्तिक २१, ०३:१० खबर संवाददाता

पटक–पटक औषधी खरिद र उपकरण खरिदामा विवादित बनेको सुदूरपश्चिम प्रदेश सरकार फेरी अल्ट्रासाउण्ड मेसिन खरिदमा पनि विवादमा तानिएको छ। प्रदेशका ८८ वटा स्थानीय तहमा अल्ट्रासाउण्ड सेवा सञ्चालन गर्ने भन्दै उपकरण खरिद गर्दा अनियमितता भएको आरोप लागेको छ।

प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तरगतको स्वास्थ्य निर्देशनालयले ८८ वटा अल्ट्रासाउण्ड मेसिन खरिदका लागि टेण्डर गरेकोमा मिलोमतोमा टेण्डर स्वीकृत गरेको आरोप लागेको छ। आपुर्तीकर्ता र स्वास्थ्य निर्देशनालयको मिलोमतोमा महंगो मूल्यमा अल्ट्रासाउण्ड उपकरण खरिद गरिएपछि झण्डै पाँच करोड बढि बजेट खर्च भएको समेत देखिएको छ। 

अल्ट्रासाउण्डको एवटा उपकरण खरिदका लागि एजे हेल्थ केयर काठमाडौँले बिट रकम ७ हजार डलर राखेर प्रस्ताव पेश गरेको थियो। ‘माग अनुसारको प्रावधान नमिलेको भन्दै प्राविधिक मुल्याङकनमा उक्त प्रस्तावलाई अस्विकार गरियो,’ एजी हेल्थ केयरका सञ्चालक पोष्टवहादुर ज्ञवालीले भने, ‘मिलोमतोमा टेण्डर दिने तयारी हुँदा अस्विकार गरिएको हो, सवै प्रावधान मिलेकै थियो।’

त्यसपछि झण्डै साढे १२ हजार डलर प्रति अल्ट्रासाउण्ड मेसिन खरिदका लागि बिट रकम राखेको फिलिप्स मेडिकल सिस्टमसंग ठेक्का सम्झौता भएको थियो। यस्ले एउटा मात्रै उपकरण खरिदमा ५ हजार डलर बढि रकम खर्च भएको छ। अल्ट्रासाउण्ड उपकरण खरिद गरेको फिलिप्स मेडिकल सिस्टमका सञ्चालक विशाल पण्डितले भने आफ्नो कम्पनीसंग ठेक्का सम्झौता भएपछि मेसिन खरिद गरिएको बताए। 

यता प्रदेशको स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले भने सार्वजनिक खरिद ऐन अनुसार नै टेण्डर भएको र कुनै अनियमितता नभएको दावी गरे। उनले अन्य सप्लायर्सले लगाएको आरोपमा कुनै सत्यता नभएको बताए। 

झण्डै १२ करोडमा ८८ वटा अल्ट्रासाउण्ड उपकरण खरिद भएकोमा प्रदेशको स्वास्थ्य निर्देशनालयले उपकरण खरिद भईसकेपछि थप पौने दुई करोड बजेट सामाजिक विकास मन्त्रालयलाई माग गरेको छ। १२ करोडमा पौने दुई करोड भ्याट वापतको रकम आवश्यक भएको भन्दै माग भएको हो।

पौने दुई करोड भ्याट वापतको रकम माग गरेर थप अनियमितता गर्न खोजेको समेत आरोप लागेको छ। यता प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव तेजराज पाण्डेयले भने सो बारेमा छलफल भईरहेको बताए। 

समान्यतया अल्ट्रासाउण्ड कुनै परीक्षणको लागि गरिन्छ र यो बैभन्दा बढी प्रयोग पेटको लागि गरिन्छ। पेटमा भएको समस्या पत्ता लगाउने यो नै सबैभन्दा भरपर्दो प्रविधि हो। यसै उपकरण मार्फत भ्रुण समेत पत्ता लाग्ने भएकाले यस्को दुरुपयोग पनि हुने आशंका गरिएको छ।
 

कमेन्ट लोड गर्नुस