सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीका विद्यार्थीले मैनबत्ती बिक्री गर्दै ७० हजार कमाए

२०७६ कार्तिक १८, ०१:२० खबर संवाददाता

बैतडी– जिल्लाको एक सामुदायिक विद्यालयले ७० हजार बराबरको मैनबत्ती बिक्री गरेको छ। जिल्लाको पाटन नगरपालिका वडा नम्बर ९ स्थित सिद्धेश्वर मावि हुक्केडाँडाका विद्यार्थीले विद्यालयमै उत्पादन गरेको मैनबत्ती बिक्रीबाट ७० हजार आम्दानी गरेका हुन्।

कक्षा ६ देखि ८ सम्म अध्यापन हुने ‘पेशा व्यवसाय र प्रविधि शिक्षा’ पाठ्यक्रम अन्तर्गत प्रयोगात्मक कक्षा अध्ययान गर्दै आएका विद्यार्थीहरुले मैनबत्ती उत्पादन गर्दै आएका छन्। विद्यार्थीको क्षमता अभिवृद्धि र विद्यालयको आयस्रोत बढाउनका लागि मैनबत्ती उत्पादन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमसिंह भाटले बताए। उत्पादित एक हजार आठ सय ५० प्याकेट मैनबत्ती तिहारको समयमा स्थानीय बजार खोडपे, पाटन, पुर्चौडी, गाँजरीलगायतका क्षेत्रमा बिक्री गरिएको भाटले बताए। यसअघि उक्त विद्यालयले गत वर्ष पनि ५२ हजारको मैनबत्ती बिक्री गरेको थियो।

मैनबत्ती बिक्रीबाट सङ्कलित रकम विद्यालयको गुणस्तर सुधारका लागि खर्च गरिने उनले बताएका छन्। निजी स्रोतबाट पारिश्रमिक लिएर काम गर्ने शिक्षकहरुलाई तलवका लागि आर्थिक समस्या रहेकाले विद्यार्थीले उत्पादन गरेको मैनबत्ती बिक्री गरी रकम सङ्कलन गर्न थालिएको विद्यालयले बताएको छ। अविभावकको लगानीमा विभिन्न शैक्षिक सामग्री र बाल उद्यानसमेत रहेको उक्त विद्यालय जिल्लाकै पहिलो कागजरहित विद्यालयका रुपमा परिचित छ। विसं २०१८ मा स्थापना भएको विद्यालयमा अहिले तीन सय बढि विद्यार्थी अध्ययनरत छन्। रासस

कमेन्ट लोड गर्नुस