सुदूर नेपाललाई विश्वसँग जोड्दै

पूर्वी नेपालमा केसर खेतीको परीक्षण

२०७६ कार्तिक ७, ०५:३९ खबर संवाददाता

झापा र इलामका उत्साही युवा उद्यमीहरुद्वारा इलामको सन्दकपुर–५ जौबारीमा गरिएको केसर खेतीको परीक्षण सफल भएको छ। अम्लिसो, अदुवा, ओलन, अकबरे लगायतका कृषि बालीमा प्रसिद्ध इलाम अब केसर खेतीका कारणसमेत चिनिने भएको छ। जौबारी मल्टिपरपोज एग्रीकल्चर एन्ड इन्भाइरोेमेन्ट सेन्टर प्रालि स्थापना गरी जौबारीको एक हजार ३०० वर्गमिटर क्षेत्रफलमा केसर खेती गरिएको छ। औषधि र खानेकुरामा प्रयोग हुने केसर सुगन्धित हुन्छ। यसको बजार मूल्य प्रति किलो रु १० लाखसम्म हुने प्रालिका अध्यक्ष वीरबहादुर कटुवाल बताउँछन्।

भारतको कस्मिरबाट बीउ गाना ल्याएर गत असोजमा रोपिएको केसरका बोटहरु यतिबेला फुल्न थालिसकेका छन्। खेतभरि ढकमक्क केसरको फूलको पराग टिपेर त्यसबाट केसर उत्पादन हुने गरेको छ। केसरको पराग टिप्ने कार्य शुरु भइसकेको कटुवालले बताए। एकदेखि डेढलाख फुलको पराग सङ्कलन गर्दा एक किलो केसर उत्पादन हुने विज्ञको भनाइ छ।

पूर्वी नेपालमा केसर खेती फस्टाउँछ कि फस्टाउँदैन भनी गत वर्षदेखि इलाममा यसको परीक्षण भइरहेको छ। गत वर्ष इलामकै माइ जोगमाई–६ थुम्के भन्ने स्थानमा करीब एक हजार ५ सय वर्गमिटरमा यसको परीक्षण खेती गरिएको थियो। यस वर्ष खेती विस्तार गरिएको छ। 

केसर औषधीय गुण भएको सुगन्धित वनस्पति हो। अल्जाइमर्स र डिप्रेसनका बिरामीलाई १२ औँ शताब्दीतिर यसबाट बनेको औषधि खुवाइने गरिएको अध्ययनबाट पत्ता लागेको केसर खेतीमा लाग्नुभएको झापाको मेचीनगर–६ का शङ्कर भट्टराई बताउँछन्।

भट्टराईका अनुसार हिउँ र तुषारो पर्ने चिसो भूभागमा मात्र यसको खेती हुन्छ। समुन्द्र सतहबाट दुई हजार मिटरको उचाइमा यसको खेती हुन्छ। राति १० डिग्री सेल्सियसभन्दा कम र दिउँसो १० देखि २० डिग्री सेल्सियस तापक्रम भएको चिसो भूभागमा यसको खेती मौलाउने उनले बताए।

केसर खेती रहेको ठाउँ प्रसिद्ध सन्दकपुर पर्यटकीय क्षेत्र नजिक रहेको छ। यसबाट सन्दकपुर र केसर खेतीको पर्यटन सँगसँगै अघि बढाउन सकिने सम्भावना देखिएको खेतीमा लाग्नुभएका युवा उद्यमीहरुको भनाइ छ। केसर खेती भएको स्थानलाई पर्यटकीय गन्तव्य बनाउन ‘टुलिप गार्डेन’ को योजनासमेत अघि सारिएको छ। टुलिप एकप्रकारको मनमोहक फूल हो, जसको एक थुँगाको मूल्य नै रु ५ सय भन्दा बढी पर्छ। 

“केसर खेती रहेकै स्थानमा ससाना कटेजहरु निर्माण गरी पर्यटकलाई बास बसाउने र त्यहाँको जैविक उत्पादनको स्वाद चखाएर प्राकृतिक सौन्दर्यको आनन्द लिन आकर्षित गर्ने हाम्रो सोच छ”, झापा ट्राभल्स सङ्घका पूर्वअध्यक्षसमेत भइसक्नु भएका पर्यटन व्यवसायी शङ्कर भट्टराई भन्छन्, “नेपालमा नौलो भएको हुँदा केसर खेती आफँैमा अध्ययन र भ्रमणका लागि गन्तव्य हो।”

नेपालमा विसं २०१९ मा पहिलो टिस्टुङमा केसरको खेती परीक्षणका रुपमा गरिएको इतिहास छ। जुम्ला (२०४० साल), डोल्पा (२०४६ साल) र ललितपुरको गोदावरी (२०४७ साल)मा समेत यसको परीक्षण खेती गरिएको थियो। तर यसको व्यावसायिक खेती भने हुन सकेको छैन। नेपालमा वार्षिक कूल सात किलोसम्म केसर उत्पादन हुने गरेको अनुमान छ। 

केसर खेतीसँगै पाँच अम्ले, गुजरगाइनो, बिख्मा, सतुवा, पाखनबेद जस्ता दुर्लभ जडीबुडीको समेत खेती गर्ने युवा उद्यमीहरुको लक्ष्य रहेको छ। उन्नत प्रजातिको बाख्रा, भेडा र च्याङ्ग्रापालन गर्ने तथा रेडपाण्डा जस्ता दुर्लभ प्रजातिको वन्यजन्तुको संरक्षण गर्ने वृहत परियोजनाका साथ कम्पनी स्थापना गरिएको अध्यक्ष वीरबहादुर कटुवाल बताए। रासस
 

कमेन्ट लोड गर्नुस