पाटन र साफेबगर नयाँ सहरको काम अलपत्र
बैतडीको पाटन र अछामको साफेबगर नयाँ सहर अन्तरगत पुर्वाधार निर्माणको कार्य अलपत्र परेको छ। मध्य पहाडी लोकमार्गमा पर्ने पाटन र साफेंबगरमा नयाँ शहर योजना सुरु भएको ९ वर्ष भन्दा बढी हुँदा पनि विभिन्न पुर्वाधार निर्माणको कार्य भने अलपत्र परेको हो। नयाँ शहर अन्तरगत निर्माण भईरहेका बसपार्क, खेल मैदान र सभाहलको निर्माण कार्य अलपत्र परेको छ।
गत आर्थिक वर्षको सुरुवातमा प्रदेश सरकारलाई हस्तान्तरण गरिएको पाटन र साफेंबगर नयाँ शहर योजना फेरी संघीय सरकारले नै कार्यान्वयन गरिरहेको भएपनि विगत लामो समयदेखिको जग्गा व्यवस्थापनको विवाद अझै सुल्झीन नसकेको बैतडीको नयाँ शहर कार्यालयका सव–ईन्जिनियर विरेन्द्र यादवले बताए।
आर्थिक विकासको सम्भाव्यता, जमिनको उपलब्धता, जनसंख्या तथा यातायातको सुगमताको आधारमा सरकारले २० वर्षीय गुरु योजना तयार गरी पाटन र साफेबगरमा नयाँ शहर विकास गर्ने लक्ष्य राखेको भएपनि निर्माण कार्य अलपत्र परेको छ।
जग्गा व्यवस्थापनको प्रक्रियामा देखिएको विवाद अझै सुल्झीन सकेको छैन भने अन्य संरचना निर्माणको अवस्था पनि अलपत्र परेको छ। एकिकृत विकास गुरु योजना बनाउन सकेत बाँकी रहेको सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन ईकाइ धनगढीका ईन्जिनियर रविन वस्नेतले बताए।
प्रत्येक शहरमा सडक, खानेपानी, खेलकुद मैदान, बसपार्क, मनोरञ्जन पार्क, आधुनिक बस्ती, विद्यालय, कलेज, अस्पताल, तरकारी बजार, औद्योगिक क्षेत्र, चक्रपथ निर्माण, बसपार्क निर्माण, डम्पिङ साइट लगायत पूर्वाधारको विकास गरिने योजना छ।
यो संगै गोरेठो बाटो र शव दाह गृहको निर्माण कार्य पनि हुने भएको छ। आवश्यक संरचना निर्माण गरेर नयाँ शहरमा विकास गर्न सके सबैलाई सहज हुने विश्वास लिईएको छ तर योजना कार्यान्वयनको अवस्था निकै सुस्त छ।
नयाँ शहरमा एक÷एक लाख जनसङख्या बसोबास गराउन सक्ने गरी सम्पूर्ण सुविधा र पूर्वाधार निर्माण गरिने र नयाँ शहरको निर्माणपछि हिमाल, पहाडबाट तराई झर्नेहरूको संख्यामा कमी आउने र राजधानी लगायत ठूला शहरमा हुने बसाईसराँइ न्यून हुने विश्वास गरिएको थियो।
तर योजना लागु भएको लामो समय हुदापनि अधिकासं संचरण निर्माणको लागि प्रक्रिया समेत अगाडी बढेको छैन।