कञ्चनपुरको कलुवापुर–बेलौरी सडकको निर्माण अधुरै
कञ्चनपुरको दक्षिणी क्षेत्रको सम्वृद्धीसँग जोडिएको कलुवापुर–बेलौरी सडकको ठेक्का अवधी सकिएको एक बर्ष सम्म निर्माण अधुरै रहेको छ। सडक डिभिजन कार्यालय महेन्द्रनगरले योजना कार्यान्वयन गर्दा एक बर्ष अगाडी २०७५ भदौमा निर्माण सक्नुपर्ने ठेक्का सम्झौता गरेको थियो। तर अहिले सम्म सडकको निर्माण कार्य अधुरै रहेको हो।
निर्माण सम्पन्न नहुँदा आवतजावतमा सास्ती हुने गरेको कञ्चनपुरको शुक्लाफाटा नगरपालिकाका स्थानीय स्थानीय राम बहादुर महराले बताए। सडक निमार्ण कार्य समयमै सम्पन्न नहुदा हिउदमा धुलाम्य र वर्षातमा हिलाम्य सडकमा यात्रा गर्न कठिन हुने गरेको उनले बताए।
दक्षिणी क्षेत्रको प्रमुख सडकको नै निर्माण अधुरो भएपछि आवतजावतमा सास्ती त छ नै स्थानीय कृषि उपजको बजारीकरणमा पनि समस्या भएको छ। शुक्लाफाँटा नगरपालिकाको बनशाहका अर्का स्थानीय केशब साउदले पनि दक्षिणी क्षेत्रको प्रमुख सडक भएपनि निर्माणमा सरोकार राख्ने निकायले वेवास्ता गरेको आरोप लगाए।
बेलौरीदेखि कलुवापुरसम्मको २३ किलोमिटर सडक कालोपत्रेको जिम्मा पाएको निर्माण कम्पनीको लापरबाहीका कारण निर्माणको अवधी सकिएको एक बर्ष सम्म पनि निर्माण सम्पन्न नभएको हो। विगतमा संघीय सरकार अन्तर्गत निर्माण कार्य भइरहेको उक्त सडक अहिले प्रदेश सरकारको स्वामित्वमा परेपछि गौरवको योजनामा पनि राखिएको छ।
तर पनि निर्माणको गति सुधार हुन सकेको छैन्। प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री पठान सिह बोहराले भने अहिले उक्त सडकको निर्माण तिव्र गतीमा भईरहेको बताए। उनले उक्त सडक गौरवको सुचीमा परेपछि निर्माणको गती पनि बढेको बताए।
बेलौरी नाईल बुडर सडकखण्ड प्रदेशकै गौरबको योजनामा परेपछि कलुवापुर बाट निमार्ण कार्य अगाडी बढाईएको छ। उक्त सडकलाई जिल्लाको दक्षिणी क्षेत्रको सम्बृद्धीको आधारका रुपमा हेरिएको छ। कलुवापुर–बेलौरी सडक शुक्लाफाँटा, बेलौरी, पुनर्वास नगरपालिका र बेल्डाँडी तथा लालझाडीका स्थानीयको आवतजावतको मुख्य मार्ग हो।