बैतडीमा डोजर चालक विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा, दुई जना घाईते कोहलपुर रेफर
बैतडीमा डोजरले महिलालाई हुत्याउने चालक विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गरिएको छ। सडक निर्माणका विषयमा गाउँलेबीच विवाद हुँदा डोजरले स्थानीय महिलालाई हुत्याउने चालक दशरथचन्द नगरपालिका–२ देहीमाण्डौंका किशोर बोहराबिरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गरिएको हो।
उनलाई नियन्त्रणामा लिएर मुद्धा दर्ता गर्दै जिल्ला अदालतबाट १० दिन म्याद थप भईरसकेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए। दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा सडक निर्माणका विषयमा विवाद हुँदा भएको झडपमा परी आठ जना घाइते भएका थिए।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ। डोजरमार्फत आक्रमण गर्दा स्थानीय गौरा जोशी र सुरेशप्रसाद जोशी गम्भीर घाइते भएका हुन्। गम्भीर घाइते दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल बैतडी लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि कोहलपुर रेफर गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
स्थानीय नारायण जोशी, सन्तोष जोशी, पुष्कर जोशी, दिनेश जोशी, भोजराज जोशी र धर्मानन्द जोशी पनि ाइते भएका छन्। सुण्नाखानदेखि पार्ससम्मको सडक निर्माणका विषयमा दुई पक्षबीच कुराकानी नमिल्दा झडप भएको थियो।
सडक लैजान नदिने र सडक लैजानुपर्छ भन्ने पक्षबीच विवाद हुँदा झडप भएको प्रहरीले जनाएको छ। आफूहरुले सडक निर्माणका लागि सहमति गर्न खोजेपछि निर्माण पक्षले जबर्जस्ती आफूहरुको जमीनमा डोजर चलाएको स्थानीय हंसराज जोशीले जानकारी दिए।
सडक निर्माण हुने ठाउँमा देवताको गुठीको जमीन पर्ने र यो विषयमा सबै गाउँलेसँग सहमति गरेर अघि बढ्ने भने पनि निर्माण पक्षले जबर्जस्ती गरेको उनले बताए। यता सडक निर्माण समितिका अध्यक्ष केशवदत्त जोशीले आफूहरुले सडक निर्माण गरिरहेको र एक्कासि डोजरमा ढुङ्गामुढा गर्दा झडप भएको बताए।
पार्ससम्म जोड्ने अर्को सडक पनि काट्ने काम भइरहेकाले गाउँलेहरु दुवै समूहमा विभाजन हुँदा झडप भएको प्रहरीले जनाएको छ। स्थानीयवासीको ढुङ्गामुढाले डोजरको सीसा फुटेको प्रहरीले जनाएको छ। सडक निर्माणका विषयमा भएको विवादका बारेमा दुवै पक्षसँग छलफल गरेर टुङ्गोमा पुग्ने बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए।