जुम्लाबाट छ हजार पाँच सय मेट्रिक टन स्याउ निर्यात
जुम्ला- जुम्लाबाट छ हजार पाँच सय मेट्रिक टन स्याउ निर्यात गरिएको छ। विगत दुई वर्षयताकै स्याउबाट भित्रिने आर्थिक आम्दानीको रेकर्ड तोड्दै यस वर्ष रु ३४ करोड १८ लाख ८० हजार बराबरको स्याउ निर्यात भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले बताए। आर्थिक वर्ष २०७४÷७५ मा रु १६ करोड र आव २०७५÷७६ मा रु १७ करोड बराबरको स्याउ जिल्ला बाहिर गएको उनले बताए। उनले भन, “दुई आवको तुलनामा यस वर्ष स्याउबाट करीब रु १७ करोड आम्दानी बढी भएको छ।” पछिल्लो समय जुम्ली किसानको स्याउखेतीप्रति बढ्दै गएको आकर्षणका कारण पनि उत्पादन वृद्धि भइरहेको छ।
जुम्लाका साढे १६ हजार घरधुरी स्याउखेतीमा निर्भर छन्। स्याउको आम्दानी हेर्दा कम्तीमा एक किसानले रु चार देखि रु छ लाख बराबर कमाएका छन्। तिला गाउँपालिका–१ का नर रावत र महेन्द्र बुढाले स्याउ निर्यातबाट करीब रु दुईदेखि रु चार लाख कमाएको बताए।
बाह्र हजार मेट्रिक टन स्याउ उत्पादन
जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार यस वर्ष जुम्लामा १२ हजार मेट्रिक टनभन्दा बढी स्याउ उत्पादन भएको छ। स्याउ उत्पादनको तथ्याङ्क पनि विगत दुई वर्षयताकै धेरै छ। जम्मा उत्पादित स्याउको ७० प्रतिशत अर्थात आठ हजार ५ सय ४७ मेट्रिक टन स्याउ बिक्रीयोग्य रहेको थियो। असोज अन्तिमसम्मको तथ्याङ्कअनुसार जुम्लाबाट छ हजार ५सय मेट्रिक टन स्याउ मात्रै निर्यात भएको छ।
सोबाट रु ३४ करोड जुम्ला भित्रिएको छ। जुम्लाको कूल खेतीयोग्य जमीन ३९ हजार ४ सय ३५ हेक्टर छ। त्यसको तीन हजार ७ सय हेक्टर जमीनमा गरिएको स्याउखेतीमध्ये एक हजार ४४७ हेक्टरमा मात्रै स्याउ फलेको थियो। सरदर रुपमा प्रतिकिसानले ८ दशमलव २५ मेट्रिक टन स्याउ उत्पादन गरेका छन्। व्यापारीले बगैँचामै पुगेर धमाधम स्याउ खरीद गरेका थिए।
मार्सी धान भित्र्याउन भ्याइनभ्याई
जुम्लाका किसानलाई यतिबेला कालीमार्सी धान भित्र्याउन भ्याइनभ्याई भएको छ। यहाँका किसान दशैँ सकिएलगत्तै धमाधम धान काट्न थालेका छन्। मार्सी धान पाकेर दाना झर्ने अवस्था भइसकेर किसानलाई धान काट्न चटारो भएको चन्दननाथ–३ का किसान अम्मर नेपालीले बताए। “अहिले जुम्ली मार्सी चामलको माग बढ्दै गएको छ, मार्सी चामलको बजारभाउ प्रतिकिलो रु १२० छ, व्यापारी घरघरमा पुगिसकेका छन्”, उनले भने, “मार्सी चामलको जति चर्चा छ उत्पादनमा त्यतिनै मेहेनत खर्चनुपर्छ।” यहाँका किसान चैतमा मार्सीको बेर्ना राख्ने, जेठमा रोप्ने, असारमा गोडमेल गर्ने र असोज अन्तिममा भित्र्याउने गर्छन्।
वर्षेनी मार्सी धान उत्पादन हुने जग्गामा बस्ती विस्तार हँुदै जाँदा खेत मासिने, कुलानाला बन्द हुने, फोहरमैलाले धानबाली नष्ट हुने हुँदा उत्पादन घटिरहेको चन्दननाथ–६ का किसन जयराज भारतीले बताए। कृषि विकास कार्यालयका अनुसार जुम्लामा कूल दुई हजार ८ यस हेक्टरमा धान खेती हुने गरेको छ। रासस