सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको फुलवारीमा गाईको हत्या, मासु निकालेर खाएको आशंका

२०७६ कार्तिक १, ०१:४७ खबर संवाददाता

धनगढी उप–महानगरपालिका वडा नम्वर १४ फुलवारीमा गाईको हत्या गरिएको छ। स्थानीय  गीता चौलागाईको गोठमा बाँधेर राखेको गाई गयराती चोरेर हत्या गरिएको  हो। राती गोठमै बाँधेको गाई बिहान मासु निकालिएको अबस्थामा स्थानीयले जनकाल्याण सामुदायिक वनमा  भेटेपछि प्रहरीलाई खबर गरेका थिए। 

राती १ बजे सम्म गोठमै रहेको दूध दिने गाई बिहान दूध दुहुन जाँदा गोठमा नभेटेपछि खोजी गरिएको चौलागाईले बताईन्। ‘स्थानिय एक महिलाले तिम्रो गाई त काटेर मासु लगिएको छ भने पछि घटना स्थालमा गए, उनले भनिन्,  नभन्दै मासु लगेर हड्डी र टाउको मात्र  घटना स्थलमा भेटियो।’

टाउको घटना स्थलमा भेटिएपछि गाईको पहिचान भएको उनले बताईन्। घटना स्थलमा  गाईको हड्डी, टाउको र छाला मात्र बाँकी छ भने मासु निकालिएको स्थानिय तारा खत्रीले बताईन्। गाईको मासु खान नै कसैले चोरेर हत्या गरेको आरोप उनको छ। स्थानीयले गौहत्यमा संग्लनलाई कारवाही हुनु पर्ने माग गरेका छन्। 

घटना स्थलमा पुगेका धनगढी उपमहानगरपालिका वडा नम्बर –१४ का  वडा अध्यक्ष रामबजारी थारुले मासु निकालिएको अबस्थामा  भेटिएको बताउँदै कसैले मासु खान नै गाई मारेको हुन सक्ने बताए।

बुहुलिया सीमा प्रहरी चौकी, फुलवारीले घटनामा संलग्नहरुको खोजी गरीरहेको जनाएकोछ। जिल्ला प्रहरी कार्यालयबाट पनि टोली पठाईएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए। 
 

कमेन्ट लोड गर्नुस