सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती र महाकाली अस्पतालको नाम फेरिएपनि सेवा सुधार भएन

२०७६ असोज ३०, ०३:०७ रोशन भट्ट

नाममा स्तरोन्नती भएका सेती र महाकाली अस्पतालको सेवा सुधारका लागि भने सुदूरपश्चिम प्रदेश सरकार अझै उदासिन देखिएको छ। सेती र महाकाली अञ्चल अस्पतालको नाम परिवर्तन गरेको महिनौ सम्म पनि प्रदेश सरकारले सेवा सुधारका लागि कुनै पहल नगरेको हो। स्वास्थ्य सेवा प्रदेश सरकार मातहत आएपछि अस्पतालको साईन बोर्ड फेरिए पनि सेवा सुधारका कुनै काम नभएका हुन्। अहिले पनि महाकाली अस्पतालमा जनशक्तीको ठुलो अभाव छ भने भएका दरबन्दी पनि रिक्त छन। शैया अभावले विरामीहरुलाई अन्यत्र पठाउनु पर्ने बाध्यता कायमै रहेको अस्पताले जनाएको छ।

चिकित्सक अभावको समस्याले पनि स्वास्थ्य सेवा प्रभावकारी हुन नसकेको महाकाली अस्पतालका सूचना अधिकारी केशव अवस्थीले बताए। प्रदेशकै एक मात्र रेफरल अस्पतालको रुपमा रहेको सेती प्रादेशिक अस्पतालको अवस्था पनि उस्तै छ। अञ्चल अस्पतालबाट प्रादेशिक अस्पताल बनाईएको भएपनि आवश्यक पर्ने संरचना, शैया, जनशक्ती र उपकरणको व्यवस्थापन हुन सकेको छैन। सामाजिक विकास मन्त्रालयले नाम परिवर्तन गर्ने निर्णय गरेको एक वर्ष हुनै लाग्दा पनि स्तर बृद्धिको लागि कुनै पहल हुन सकेको छैन्। सेती प्रादेशिक अस्पतालका मेसु डा. हेमराज पाण्डेयले स्तरबृद्धिको तयारी भईरहेको भएपनि काम सुरु नभएको बताए।

सेती अस्पताल नाममा स्तरोन्नती भएपनि २०४० सालदेखि सेवा स्तरोन्नती भने हुन सकेको छैन्। तर प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता झंकर विष्टले केही प्रशासनिक समस्याका कारण ढिलाई भएको बताए। स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको बेला सेती प्रादेशिक अस्पताललाई तीन सय र पाँच सय शैयामा स्तरोन्नती गराउने विषयमा निकै चर्चा भएपनि प्रदेशको सामाजिक विकास मन्त्रालयले भने अहिलेकै संरचना, शैया, जनशक्ति र उपकरणमा अस्पताललाई प्रादेशीक नामाकरण गरेको हो।  
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस