सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको डिलासैनी गाउँपालिकाको केन्द्र सार्ने चलखेल भएको भन्दै स्थानीयको विरोध

२०७६ असोज २५, ०६:२९ खबर संवाददाता

बैतडीको डिलासैनी गाउँपालिकाले राज्य पुर्नसंरचना हुने बेला तोकिएको केन्द्र स्थापना नगर्दै सार्ने चलखेल भएको भन्दै स्थानीयले विरोध जनाएका छन्। राज्य पुर्नसंरचना हुने बेला गाउँपालिकाको केन्द्र वडा नम्बर ७ मा राख्ने निर्णय भएकोमा अहिले उल्ट्याउने प्रयास भएको भन्दै स्थानीयले विरोध जनाएका हुन्।

उनीहरुले आज गाउँपालिकाको केन्द्र उल्ट्याउने नहुने र विगतमा कार्यपालिकाले समेत गरिसकेको निर्णय कार्यान्वयन गर्नुपर्ने माग राख्दै प्रर्दशन समेत गरेका छन। स्थानीय जयराज जोशीको संयोजकत्वमा संघर्ष समिति गठन गर्दै स्थानीयले विरोध प्रर्दशन गरेका हुन्। प्रर्दशनमा प्रहरीले धरपकड गरी जोशी सहितका दुईजनालाई पक्राउ समेत गरेको छ। तर जिल्ला प्रहरी कार्यालय बैतडीले भने स्थानीयलाई पक्राउ गरेको नभएर सोधपुछका लागि नियन्त्रण लिईएको दावी गरेको छ। बैतडीका प्रमुख प्रहरी नायब उपरिक्षक बैतडीका डिएसपी डिल्लीनारायण पाण्डेले उनीहरुलाई समान्य सोधपुछका लागी नियन्त्रणमा लिएर छोडिएको बताए।

यता संघर्ष समितिका संयोजक जयराज जोशीले विगतमा कार्यपालिका बैठकबाट डिलासैनी गाउँपालिकाको केन्द्र वडा नम्बर ७ मा राख्ने निर्णय भएर जग्गा व्यवस्थापनको प्रक्रिया समेत पूरा भईसकेको अवस्थामा नेकपाका नेताको चलखेलमा सार्न लागिएको आरोप लगाए।  उनले नेकपाका जिल्ला अध्यक्ष सुरेन्द्र पालको स्वार्थमा गाउँपालिकाको केन्द्र उनकै वडा नम्बर ३ मा सार्ने चलखेल भईरहेको आरोप लगाए। तर नेकपा अध्यक्ष पाललले भने गाउँपालिकाको केन्द्र कहाँ राख्ने भन्ने विषयमा आफ्नो कुनै सरोकार नभएको प्रतिक्रिया दिएका छन्। पालले केन्द्र राख्ने-सार्ने विषय गाउँपालिकाको अधिकार क्षेत्र भित्र पर्ने भएकाले आफ्नो कुनै किसिमको स्वार्थ नभएकाले गलत अपवाह फैलान नाम जोडिएको दावी गरे।

डिलासैनी गाउँपालिकाका अध्यक्ष उकेन्द्र बहादुर बोहोराले भने गाउँपालिकाको केन्द्र राख्ने विषयमा कुनै निर्णय नै नभएको जिकिर गरे। उनले केन्द्र सार्ने विषयमा गाउँपालिकाबाट कुनै निर्णय नै नभएको तर कहाँ राख्ने भन्ने विषयमा अध्ययन गर्ने विज्ञ टोली गठन गर्ने तयारीमा रहेको बताए। गाउँपालिकामा भएको विरोध प्रर्दशनका विषयमा समेत आफूलाई कुनै जानकारी नभएको उनको दावी थियो। 
  
 

कमेन्ट लोड गर्नुस