कैलालीमा पेट्रोलियम पदार्थको कृत्रिम अभाव देखाएर कालोबजारी
कैलालीमा दशैँको मौका छोपेर पेट्रोलियम पदार्थको कृत्रिम अभाव देखाएर कालोबजारी गर्न थालिएको छ। नेपाल आयल निगम क्षेत्रिय कार्यालय धनगढीले पेट्रोलिय पदार्थको अभाव नरहेको दावी गरेपनि व्यवसायीहरुले भने दशैँको मौका छोपेर कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्न थालेको आरोप लागेको हो। पूर्व पश्चिम राजमार्गको लम्की र बलिया क्षेत्रका पप्पहरुले पेट्रोलिय पदार्थको अभाव देखाउँदै कलोबजारी गरिरहेको आरोप लागेको हो।
लम्कीका पत्रकार तीर्थ जैशीले पेट्रोलिय पदार्थ नभएको भन्दै त्रिपालले पम्पहरु छोपेर राखेको बताए। उनले पम्पहरुले पेट्रोलिय पदार्थ नभएको बताएपनि ग्यालीन मार्फत भने बिक्रि गरी कालोबजारी गरिरहेको स्थानीयले जनाएको दिनेश खबरलाई जानकारी दिए। शान्ति आयल स्टोरले दिउँसो देखि नै पेट्रोलिय पदार्थ नभएको भन्दै पम्प त्रिपालले छोपेर राख्दै ग्राहकलाई फर्कारहेको छ तर सञ्चालक रामेश्वर चौधरीले भने दिनेश खबरलाई अभाव नभएकाले बिक्रि वितरण भईरहेको दावी गरे।
‘पेट्रोलिय पदार्थको अभाव छैन्, हामीले वितरण गरिरहेका छौँ, बन्द गरेको कुरा गलत हो, चार सम्म वितरण गरेका थियौँ। ’ उनले भने। यस्तै माँ शक्ति आयल स्टोरले पनि पेट्रोलिय पदार्थ नभएको भन्दै ग्राहकलाई फर्कारहेको आरोप लागेको छ। पेट्रोल पम्पहरुले दशैँको मौका छोपेर मुनाफा कमाउने उद्देश्यले पम्पमा अभाव देखाउँदै बिचौलिया मार्फत बिक्रि गरी कालोबजारी गरिरहेको आरोप लागेको हो।
यता नेपाल आयल निगम क्षेत्रिय कार्यालय धनगढीका प्रमुख शर्पराज शर्माले बजारमा पेट्रोलिय पदार्थको अभाव नरहेको दावी गरे। उनले बुधबार मात्र कैलाली कञ्चनपुरका सबै पेट्रोल पम्पहरुलाई १२ देखि २० हजार लिटरका दरले डिजेल र पेट्रोल वितरण गरिएको जानकारी दिदै बीहिबार पनि सोही अनुपातमा वितरण भएको बताए। शर्माले बुधबार मात्र कैलाली र कञ्चनपुरमा दुई लाख ४० हजार लिटर डिजेल र एक लाख ८० हजार लिटर पेट्रोल वितरण गरिएको जानकारी दिए। तर व्यवसायीहरुले भने अभाव पेट्रोलिय पदार्थको अभाव देखाएका हुन्।