सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा चाडपर्व लक्षित एकिकृत सुरक्षा योजना लागु

२०७६ असोज १५, ०४:३१ खबर संवाददाता

सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीमा चाडपर्वका बेला हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गरी एकिकृत सुरक्षा योजना लागु गरिएको छ। दशँै, दीपावली र छठ पर्वको अवसरमा जिल्ला प्रशासन कार्यालय कैलालीद्वारा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा एकिकृत सुरक्षा योजना लागु गरिएको विषयमा जानकारी दिईएको हो।

प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले चाडपर्वमा अप्रिय घटना हुन नदिन तीन वटै सुरक्षा निकायको समन्वयमा एकिकृत सुरक्षा योजना लागु भएको बताए। ‘चाडपर्वका बेला विभिन्न वाहानामा हुने लुटपाट, चोरी डकैती लगायतका घटना हुन नदिन एकिकृत सुरक्षा योजना बनाइएको लागु गरिएको छ,’ प्रमुख जिल्ला अधिकारी बोहराले भने, ‘प्रदेशको राजधानी भएको जिल्ला भएकोले सुरक्षा चुनौती बढ्दै गएकोले एकिकृत सुरक्षा योजना लागु गरिएको हो।’

‘सीमा क्षेत्रमा आवागमन सहजका लागि सयुक्त सहायता कक्ष बनाईएको छ, बसपार्कहरुमा पनि यात्रुका सहजताका लागि सहायता कक्ष स्थापना गरिएको छ।’ प्रमुख जिल्ला अधिकारी बोहराले भने। दशैँ तिहारका बेला विभिन्न वाहानामा सर्वसाधारणले सास्ती खेप्नुपर्ने समस्या भएकोले सुरक्षा सतर्कता बढाईएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरिक्षक सुदिप गिरीले बताए। 

कामको सिलसिलामा देश भित्र र बाहिर रहेकाहरु दशैँ मनाउन गनतव्यतिर फर्किने क्रम सुरु भएसँगै विभिन्न वाहानामा हुने लुटपाट, चोरी डकैती जस्ता समस्या नियन्त्रणमा प्रहरीको सक्रियता बढेको उनले बताए।

सशस्त्र प्रहरी बल नेपाल नम्वर ३४ गण हेडक्वाटर कैलालीका सशस्त्र प्रहरी उपरिक्षक कमलप्रशाद तिउसिनाले सीमा क्षेत्रमा आवागमन सहज बनाउन सशस्त्र प्रहरी सक्रिय रहेको बताए। उनले सीमामा दुःख पाएमा तत्काल सहायता कक्षमा सम्पर्क गरी समस्या राख्न सकिने बताए। 
 

कमेन्ट लोड गर्नुस