पारिवगड खण्डेश्वरी सडकको निर्माण कार्य सुस्त
पर्यटन सडक अन्तर्गत राखिएको दार्चुलाको पारिवगड खण्डेश्वरी सडकको निर्माण कार्य सुस्त भएको छ । गत वर्षबाटै निर्माण सुरु गरिएको सडक खण्डले अझै गति लिएको छैन ।
सडक डिभिजन कार्यालय बैतडी अन्तर्गत सञ्चालनमा रहेको सो सडक खण्डमा ४ सय मिटर सडकको मात्रै ट्याक खोलिएको छ । गत वर्ष निर्माण कार्य सुरु गरेका निर्माण कम्पनीले काममा लापार्वाही गर्दा निर्माण कार्य ढिलाइ भएको छ ।
यस आर्थिक वर्षमा निर्माण कार्यको जिम्मेवारी जसलिङ विरुवा जेभीले पाएको छ । माथिल्लो क्षेत्रमा सडकको ट्रयाक खोल्ने जिम्मेवारी पाएको निर्माण कम्पनीलाई गत वर्षको निर्माण कम्पनीले काम नगरिदिदा कामको गति लिन नसकेको निर्माण व्यवसायीले जनाएको छ ।
निर्माण व्यवसायी शंकरदत्त कपाडीका अनुसार गत वर्ष काम पाएको निर्माण व्यवसायीले ट्याक खोल्ने काम गरिदिएको छैन । यसैगरी यसै आर्थिक वर्षबाट विटुलेदेखि पारिवगरसम्मको सडक विस्तारको तयारी गरेपनि काम सुचारु हुन सकेको छैन ।
विटुले पारिवगर सडकमा अहिले ट्याक्टरका कारण माथिल्लो क्षेत्रमा ग्यावीन जाली तेल जस्ता सामान ढुवानी गर्नै समस्या भएको निर्माण व्यवसायी कपाडीले बताए । यस वर्ष टेण्डर पाएको जसलिङले यसै आर्थिक वर्ष भित्र पारिवगरदेखि मकरीगाड सडक पुर्याउने लक्ष्य राखेपनि काम भने हुन सकेको छैन । पारिबगर मकरीगाड कुल १२ किलोमिटर छ । जसमा गत वर्ष २ किलोमिटरमा अस्थायी रुपमा सामान्य ट्रयाक खोलिएको छ ।
यस वर्ष कुल ६ करोड ५० लाख रुपैयाँ बजेटमा जसलिङ विरुवा जेभीले ठेक्का पाएको हो । तर माथिल्लो क्षेत्रमा सडकको ट्रयाक खुलाउन विष्फोटक पदार्थ समेत आवश्यक रहेको छ ।
मेसिनबाट मात्र चट्टान काट्न नसकिने भन्दै विष्फोटक पदार्थ आवश्यक परेको डिभिजन कार्यालय बैतडीका इन्जिनियर शंकर खनालले बताए । पारिवगरभन्दा माथि मकरीगाडसम्म अधिकांश ठाउँमा कडा चट्टान रहेको छ । विष्फोटक पदार्थको लागि निर्माण व्यवसायीले पहल गरेपनि पाउन सकेको छैन ।
पारिवगर मकरीगाड सडकको ट्रयाक खुले मात्रै अपि हिमाल गाउँपालिकालाई सडक सञ्जालले जोड्न सकिन्छ । रणनीतिक सडक अन्तर्गत राखेर सडकलाई तिव्रता दिने गरी गाउँपालिकाले समेत सडक डिभिजनलाई आग्रह गर्दै आइरहेको छ । जिल्लाको अपि हिमाल गाउँपालिका अहिलेसम्म सडक सञ्जालले छुन सकेको छैन ।
सडक नहूँदा अहिले पनि स्थानीयले गाडीसम्म पुग्न ८ देखि १० घण्टाको पैदल दुरी हिड्नुपर्ने बाध्यता रहेको अपि हिमाल गाउँपालिका अध्यक्ष धर्मानन्द मन्याल बताउँछन् ।
गाउँ कार्यपालिका बैठकले समेत सडकको ट्रयाक १० महिनाभित्र खुलाउन सडक डिभिजन कार्यालय बैतडीलाई आग्रह गर्ने निर्णय गरेको छ । गाउँपालिकामा अहिलेसम्म सडक मार्गले नछोएको भन्दै सडकको कामलाई तिव्रता दिन समन्वय गर्न गाउँपालिका अध्यक्षलाई नै जिम्मेवारी दिएको छ ।