सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा घर भित्रै माछा पालन

२०७६ असोज ११, १२:१२ रोशन भट्ट

घर भित्रै माछा पालन गरेको सुन्दा धेरैलाई अपत्यारिलो लाग्न सक्छ। तर धनगढी उप–महानगरपालिका वडा नम्बर ४ का स्थानीय प्रेमबहादुर महराले आफ्नै घरका विभिन्न कोठाहरुमा १३ वटा पोखरी निर्माण गरी व्यवसाय सुरु गरेका छन्। परम्परागत रुपमा माछा पालनको लागि जग्गा आवश्यक पर्छ भन्ने मान्यतालाई तोड्दै नयाँ प्रविधको प्रयोगमा माछा पालन सुरु गरिएको छ।

महराले आज भन्दा दुई वर्ष अगाडी धनगढीकै जुगेडामा जग्गा भाडामा लिएर माछा पालन व्यवसाय सुरु गरेका थिए। त्यो भन्दा अगाडी धेरै व्यवसाय गरेर असफल भएपछि माछा पालन तर्फ आकर्षित भएको उनी बताउँछन्। जुगेडामा गरेको माछा पालनबाट राम्रै अम्दानी भईरहेपनि उनले ८० हजार अनुदान पाएपछि व्यवसायलाई थप विस्तार गर्ने सोच बनाउँदै सोही क्रममा आफ्नै नवनिर्मित घरमै व्यवसाय सुरु गरे। निर्माण गरिएको घरमा माछा पालनको लागि भने लगानी ५० हजार मात्रै लागेको छ।

घर भित्रैको माछा पोखरीमा आठ लाख भन्दा बढी भुरा राखिएको छ भने ३० हजारको संख्यामा फिङ्गर साईजका माछा राखिएको छ। दुई महिना अगाडीबाट सुरु गरिएको व्यवसायको लागि दुई हजारको दरमा एक लाख भुरा खरिद गरिएको थियो भने एड्भान्स साईजको भएपछि विक्री गर्न सुरु गरिने महराले बताए। ‘रोजगारीकै लागि भारत तथा तेस्रो मुलुक पस्ने अधिकासं युवाहरुलाई पे्ररणा मिलोस भन्ने उद्देश्यका लागि घर भित्र माछा पालन व्यवसाय सुरु गरेको हुँ’उनले भने, ‘यो व्यवसाय थोरै लगानीमा समेत गर्न सकिने भएपनि परिश्रम धेरै गर्नुपर्छ।’ महराले घर भित्रै निर्माण गरेका माछा पोखरीमा कुमलटार, थिलापिया जातका माछाका भुराहरु पालन गरेका छन्।

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस