सुदूरपश्चिममा राजनीतिले पर्यटन क्षेत्र प्रभावित
विश्व पर्यटन दिवस
शुक्रबार परेको ४० औँ विश्व पर्यटन दिवसका अवसरमा धनगढीमा विभिन्न कार्यक्रम आयोजना भए। धनगढी उपमहानगरपालिका र सुदूरपश्चिम प्रदेश सरकार लगायत पर्यटन प्रवद्र्धनको क्षेत्रमा काम गर्दै आएका संघसंस्थाले पर्यटन दिवसलाई आ–आफ्नै ढंगले मनाए। पर्यटन दिवसमा धनगढी उपमहानगरपालिका र प्रदेशको पर्यटन मन्त्रालयले छुट्टाछुट्टै रुपमा कार्यक्रम आयोजना गर्नुबाटै तीन तहका सरकारका बिचमा समन्वय अभाव रहेको पुष्टि गरिदिएको पर्यटन व्यवसायीहरुले बताएका छन्।
उनीहरुले तीन तहका सरकारका बीचमा देखिएको समन्वय अभाव लगायतका समस्याले पर्यटन प्रवद्र्धनको क्षेत्रमा उल्लेख्य काम हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् भने यसअघि नै पहिचान भईसकेका पर्यटकीय गन्तव्यमा पूर्वाधार निर्माण जस्ता महत्वपूर्ण काम प्राथमिकतामा नपरेको बताएका छन्।
कैलाली उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष दिनेशराज भण्डारीले प्रदेशका पर्यटकिय गन्तव्यको बारेमा प्रचार प्रसार भएपनि सम्बन्धीत निकायहरुबिच आवश्यक समन्वय हुन नसक्दा समस्या भएको आफूले पाएको बताए। भण्डारीले पूर्वाधार विकास, बाह्य पर्यटकलाई सुरक्षाको अनुभुति दिन नसक्दा प्रदेशको पर्यटन प्रवद्र्धन प्रभावित हुने गरेको उनको भनाई छ।
यस्तै भण्डारीले पर्यटनको क्षेत्रमा काम गर्ने निकायहरुबिच देखिएको समन्वय अभावले पनि समस्या हुने गरेको बताए। उनले शुक्रबार धनगढीमै पर्यटन मन्त्रालय, धनगढी उपमहानगरपालिका र अन्य संस्थाहरुले फरक फरक किसिमले दिवस मनाउँनुले त्यो कुरा पुष्टि गरेको जनाउँदै पर्यटन प्रवद्र्धन गरी समृद्धि हासिल गर्न एक ढिक्का भएर अगाडी बढ्न आवश्यक रहेको सुनाए।
प्राकृतिक रुपमा अन्य प्रदेशको तुलनामा सुदूरपश्चिम धनी मानिदै आएको छ। यसक्षेत्रका खप्तड, रामारोशन, बडिमालिका, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज लगायतका केही धार्मिक तथा पर्यटकीय स्थल राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमै चर्चामा छन्। तर आवश्यकता अनुसारको प्रचार प्रसार र सहज रुपमा पर्यटकीय स्थल सम्म पुग्न सकिने पूर्वाधारको अभाव कायमै हुँदा सोचे अनुसारको उपलब्धी हासिल भएको छैन्।
कञ्चनपुरका पर्यटन व्यवसायी तथा भ्रमण बर्ष २०२० का लागि गठित समन्वय समितिका कार्यक्रम संयोजक परमानन्द भण्डारीले सुदूरपश्चिम प्राकृतिक रुपमा निकै सम्भावना बोकेको भएपनि अपेक्षाकृत रुपमा काम हुन नसकेको आफूले पाएको बताए। उनले पर्यटन प्रवद्र्धनका लागि सरकार र नीजि क्षेत्र मिलेर पूर्वाधार विकास, प्रचार प्रसार तथा जनशक्ति व्यवस्थानमा लाग्नुपर्ने सुझाव दिए। पर्यटनमा पनि राजनीतिक स्वार्थ जोडिदा समस्या हुँदै आएको छ। तर सुदूरपश्चिम प्रदेश सरकारले भने पर्यटन प्रवद्र्धनका लागि दृढ भएर काम गरिहरेको दावी गर्दै आएको छ।
विगतमा पर्यटन प्रवद्र्धनका नाममा मठ मन्दिरमा करोडौँ लगानी गरेको सरकारले यसवर्ष विभिन्न पर्यटकीय स्थललाई जोड्ने गरी पाँचवटा करिडोर विस्तार भईरहेकाले त्यसले प्रदेशको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भुमिका खेल्ने विश्वास गरिएको छ। उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टले ती करिडोरमा पूर्वाधार निर्माण गरी पर्यटन प्रवद्र्धनको योजना मन्त्रालयले बनाईरहेको बताईन्।
उनले खक्रौला कर्णाली करिडोर, झुलाघाट करिडोर, महाकाली लगायतका करिडोरमा पूर्वाधार विकास गर्ने गरी योजना तय भईरहेको जानकारी दिदै पर्यटन प्रवद्र्धनमा सबैको सहयोग अपरिहार्य रहेको बताएकी छन्। यस्तै ४० औँ विश्व पर्यटन दिवसको अवसरमा प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
मन्त्रालयले सुदूरपश्चिमको दिगो पर्यटन विकास विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो। पर्यटनमन्त्री माया भट्टको प्रमुख आथित्वमा भएको कार्यक्रममा पर्यटनको क्षेत्रमा काम गर्ने सरोकारवालाको सहभागिता रहेको थियो। दिवसकै अवसरमा धनगढी उप–महानगरपालिका र नाटा सुदूरपश्चिमको आयोजनामा धनगढीमा ¥यालीको समेत आयोजना गरिएको थियो।