सुदूर नेपाललाई विश्वसँग जोड्दै

बालबालिकाका सवाल सम्बोधन गर्न प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री भट्ट

२०८३ मंसिर १३, १२:४९ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण, संरक्षण र सहभागिताको अधिकार सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्। ‘मुख्यमन्त्रीसँग बालबालिका संवाद’ प्रश्नोत्तर तथा अन्तरक्रिया कार्यक्रममा बालबालिकासँग प्रत्यक्ष संवाद गर्दै उनले बालबालिकाले उठाएका सवाल र समस्यालाई सरकारले गम्भीरतापूर्वक लिने बताएका हुन्।

कार्यक्रममा बादी, दलित, राजी, अपाङ्गता भएका तथा तराई र पहाडी क्षेत्रका बालबालिकाले आफ्ना समुदायमा भोग्दै आएका समस्या मुख्यमन्त्रीसमक्ष राखेका थिए। उनीहरूले पूर्णखोप र नियमित स्वास्थ्य सेवाको अभाव, पोषणयुक्त खानाको कमी, जातीय विभेद, बालविवाह, बालश्रम, बाल यौन शोषण, लागूऔषध दुर्व्यसन, सुरक्षित खानेपानीको अभाव तथा गुणस्तरीय र प्रविधिमैत्री शिक्षामा पहुँच नपुगेको विषय उठाएका थिए।

बालबालिकाका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री भट्टले उनीहरूलाई भविष्यका कर्णधारका रूपमा मात्र नभई वर्तमानका सचेत नागरिक र परिवर्तनका साझेदारका रूपमा लिनुपर्ने बताए। बालबालिकाको आवाज नीति निर्माण र विकासका काममा समेटिनुपर्ने उनको भनाइ थियो।

बादी, दलित, राजी तथा अन्य सीमान्तकृत समुदायका बालबालिकाले भोगिरहेका समस्या समाधान गर्न सम्बन्धित मन्त्रालय, स्थानीय तह र सरोकारवाला निकायसँग समन्वय गरिने उनले बताए। अपाङ्गता भएका बालबालिकाका लागि पहुँचयुक्त संरचना, सहायक प्रविधि र समावेशी शिक्षाको व्यवस्था गर्न पनि पहल गरिने उनको भनाइ थियो।

बालविवाह, बालश्रम, जातीय विभेद, बाल हिंसा र यौन शोषण न्यूनीकरणका लागि सचेतना, प्रभावकारी अनुगमन र कानुन कार्यान्वयनमा जोड दिनुपर्ने उनले बताए। ‘हामीले सडक, पुल र भवन निर्माणलाई मात्र विकास ठान्नु हुँदैन। बालबालिकाले पोषणयुक्त खाना खान पाउनु, गुणस्तरीय शिक्षा प्राप्त गर्नु, सुरक्षित वातावरणमा हुर्कन पाउनु र विभेदरहित समाजमा बाँच्न पाउनु नै वास्तविक विकास हो,’ मुख्यमन्त्री भट्टले भने।

उनले बालबालिकाका समस्या र गुनासा सरकारसमक्ष पुर्‍याउने वातावरण निर्माण गर्नुका साथै निर्णय प्रक्रियामा उनीहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिए। सुदूरपश्चिमका विभिन्न समुदाय र भूगोलका बालबालिकाले भोगिरहेका समस्या पहिचान गरी उनीहरूको अधिकार सुनिश्चित गर्न प्रदेश सरकारको भूमिका, नीति तथा कार्यक्रमबारे प्रत्यक्ष संवाद गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

सामुदायिक विकास केन्द्र सीडीसीले आयोजना गरेको कार्यक्रमले बालबालिकाका वास्तविक समस्या, आवश्यकता र अपेक्षा सरकारसमक्ष प्रस्तुत गर्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ।

कमेन्ट लोड गर्नुस