सुदूरपश्चिममा सुल्झिएन बजेट विवाद, मुख्यमन्त्री हटाउनेसम्मका कसरत
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गरिरहेको दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद चुलिदै गएको छ। बजेट निर्माणमा देखिएका त्रुटि र अनियमितताको विवाद समाधान गर्न भएको सहमति कार्यान्वयन नभएपछि असन्तुष्ट सांसदहरू मुख्यमन्त्री भट्टलाई दलको नेता र मुख्यमन्त्री दुवै पदबाट हटाउनेसम्ममा गतिविधिमा जुटेका हुन्।
नेकपाका असन्तुष्ट सांसदहरूले मुख्यमन्त्री खगराज भट्ट र सभामुख भीमबहादुर भण्डारीलाई भेटेर बजेट विवाद समाधान गर्न भएको सहमति कार्यान्वयन गर्न ध्यानाकर्षण गराइसकेका छन्। सहमति कार्यान्वयन नभए थप कदम चाल्ने चेतावनी दिएका उनीहरूले मुख्यमन्त्रीलाई नै हटाउनेसम्मको तयारी गरेको बताएका छन्।
‘थप कदम भनेको मुख्यमन्त्री भट्टलाई दल नेता र मुख्यमन्त्रीबाटै हटाउने हो,’ नेकपाका एक सांसदले भने। मुख्यमन्त्रीलाई हटाउन असन्तुष्ट सांसदहरूले हस्ताक्षर अभियानसमेत चलाएको चर्चा छ। तर, केन्द्रबाट पार्टी संयोजक र सहसंयोजकले विवाद मिलाउने आश्वासन दिएपछि केही दिनका लागि अभियान स्थगित गरिएको ती सांसदले बताए।
बजेट विवादले पार्टीभित्र असन्तुष्टि चुलिएपछि नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाल सोमबार धनगढी आउने कार्यक्रम तय भएको छ। प्रदेश सरकारको विवाद मिलाउन र पार्टीभित्र बढेको असन्तुष्टि सम्बोधन गर्न उनीहरू धनगढी आउन लागेका हुन्। बजेट विवादको असर पार्टीका संगठनात्मक गतिविधिमा समेत परेको छ। नेकपाले १० मंसिरदेखि सञ्चालन गर्ने तयारी गरेको राष्ट्रिय जागरण अभियान सुदूरपश्चिममा अझै सुरु हुन सकेको छैन।
प्रदेश सरकारले तीन महिनाको बजेट शून्यतापछि २५ असोजमा बजेट प्रस्तुत गरेको थियो। तर, बजेट निर्माणमा अनियमितता र त्रुटि भएको भन्दै सत्तारूढ दलकै सांसदहरूले असन्तुष्टि जनाएपछि बजेट पारित हुने विषय अन्योलमा परेको थियो। त्यसपछि बजेटको अध्ययन गर्न संसदीय समिति गठन गर्ने, २० कात्तिकभित्र प्रतिवेदन तयार गर्ने र १ मंसिरभित्र पूरक बजेट ल्याउने निर्णय भएको थियो।
प्रदेशसभा बैठकमै सुनाइएको उक्त निर्णयपछि सांसदहरू बजेट पारित गर्न सहमत भएका थिए। तर, संसदीय समिति गठन र पूरक बजेट ल्याउने दुवै निर्णय कार्यान्वयन नभएपछि विवाद थप चर्किएको छ। मुख्यमन्त्री भट्ट र आर्थिक मामिलामन्त्री चक्र मल्लले समेत बजेटमा त्रुटि भएको स्वीकार गर्दै आएका छन्।