कपडा बैंक बैतडीद्वारा शितलपुर माविका बालबालिकालाई झोला वितरण
बैतडी: ‘हुनेले दिने, नहुनेले लगेर जाने’ अभियान सञ्चालन गर्दै आएको कपडा बैंक बैतडीले मेलौलीस्थित शितलपुर माध्यमिक विद्यालयका १८ जना बालबालिकालाई विद्यालय झोला वितरण गरेको छ।
कपडा बैंक बैतडीका संयोजक महेशदत्त भट्टले विद्यालयमै पुगेर विद्यार्थीहरूलाई झोला वितरण गरेका हुन्। आर्थिक तथा भौगोलिक कठिनाइका कारण समस्यामा रहेका बालबालिकालाई सहयोग पुर्याउने उद्देश्यले झोला वितरण गरिएको हो।
कपडा बैंक बैतडीले लामो समयदेखि विभिन्न विद्यालयमा पुगेर आवश्यकतामा रहेका विद्यार्थीलाई शैक्षिक सामग्री तथा अन्य सहयोग उपलब्ध गराउँदै आएको छ।
भौगोलिक रूपमा निकै अप्ठ्यारो र भिरालो जमिनमा अवस्थित शितलपुर माध्यमिक विद्यालयको भौतिक संरचनासमेत पर्याप्त छैन। तर, सीमित स्रोतसाधन र पूर्वाधार अभावका बाबजुद विद्यालयले शैक्षिक क्षेत्रमा उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ।