सुदूरपश्चिम कांग्रेसको सभापतिमा लोकराज अवस्थीको उम्मेदवारी घोषणा
धनगढीः नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका वर्तमान उपसभापति लोकराज अवस्थीले प्रदेश सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन्। आगामी मंसिर १५ र १६ गते हुने नेपाली कांग्रेस इतर पक्षको १५औँ महाधिवेशनअन्तर्गत प्रदेश अधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दिने उनले घोषणा गरेका हुन्।
१४औँ महाधिवेशनबाट प्रदेश कार्यसमितिको उपसभापतिमा निर्वाचित अवस्थीले यसअघि कार्यवाहक सभापतिको जिम्मेवारीसमेत सम्हालिसकेका छन्।
उनले सामाजिक सञ्जालमार्फत नेता तथा कार्यकर्तालाई आफ्नो उम्मेदवारीबारे जानकारी गराउँदै यसपटक प्रदेश सभापति बन्ने चाहना पूरा गरिदिन आग्रह गरेका छन्। ‘नेपाली कांग्रेसका आदरणीय नेता तथा कार्यकर्ताज्यूहरूमा मेरो हार्दिक विनम्र अनुरोध छ। यसपटक नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश सभापति बन्ने इच्छा र चाहना यहाँहरूले पूरा गरिदिनुहुनेछ भन्ने विश्वास लिएको छु,’ अवस्थीले भनेका छन्।