सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा कांग्रेस इतर पक्षको जिल्ला अधिवेशन १३ गते 

२०८३ मंसिर ११, १२:३८ खबर संवाददाता

धनगढीः कैलालीमा नेपाली कांग्रेस इतर पक्षको जिल्ला अधिवेशन आगामी मंसिर १३ गते धनगढीमा हुने भएको छ। अधिवेशनलाई सम्पन्न गर्न जिल्ला सभापति नारायणदत्त भट्टको संयोजकत्वमा एक हजार १११ सदस्यीय मूल तयारी समिति गठन गरिएको छ।

जिल्ला कार्यसमितिको बैठकले अधिवेशनको तयारीलाई तीव्रता दिँदै विभिन्न जिम्मेवारीसहित मञ्च व्यवस्थापन, भोजन व्यवस्थापन, अतिथि सत्कार, आर्थिक, प्रचार–प्रसार र स्वयंसेवक उपसमिति गठन गरेको हो। गणेश बमको संयोजकत्वमा गठित मञ्च व्यवस्थापन उपसमितिमा दिनेश खत्री, मनीष कुँवर र विपिन कटुवाल सदस्य रहेका छन्। त्यस्तै, चक्र देउवाको संयोजकत्वमा गठित भोजन व्यवस्थापन उपसमितिमा धनगढी नगर कार्यसमितिका सम्पूर्ण सदस्य तथा धनगढी उपमहानगरपालिका–१ देखि ५ सम्मका वडा सभापतिलाई जिम्मेवारी दिइएको छ।

शारदा सुनामको संयोजकत्वमा गठित अतिथि सत्कार उपसमितिमा सरस्वती बस्नेत, विमला जैसी, जागृति बोगटी, माया भण्डारी, मैना बोहरा, यशोदा भण्डारी र भावना बम सदस्य छन्। त्यसैगरी, आर्थिक उपसमितिको संयोजकमा जिल्ला सभापति नारायणदत्त भट्ट रहेका छन्। उक्त समितिमा पाँचवटै निर्वाचन क्षेत्रका क्षेत्रीय सभापति, १० वटै प्रदेशसभा क्षेत्रका सभापति र १३ वटै पालिकाका सभापति सदस्य रहनेछन्।

अमृत बिसीको संयोजकत्वमा गठित प्रचारप्रसार उपसमितिमा सीताराम ओझा, भीम चौधरी, सुनील आउजी र गगन अयडीसहित जिल्लाका १२६ वटै वडा सभापति सदस्य रहेका छन्। यसैगरी, गजेन्द्र शाहीको संयोजकत्वमा गठित स्वयंसेवक उपसमितिमा नरेश कुँवर, मनीष कुँवर र विपिन कटुवाललगायत सदस्य रहेका छन्।

कमेन्ट लोड गर्नुस