सुदूर नेपाललाई विश्वसँग जोड्दै

खाजा खर्च जोगाएर क्रिकेटमा लगानी, पूर्वाधार र बजेटको पर्खाइमा सुदूरपश्चिमका प्रतिभा

२०८३ मंसिर ११, १२:०७ खबर संवाददाता

धनगढीः सुदूरपश्चिमको माटोमा ब्याट र बल ठोक्किँदा केवल रन र विकेटको प्रतिस्पर्धा हुँदैन। त्यहाँ अभावसँग जुधिरहेका सपना, संघर्ष र सम्भावनाको कथा पनि जोडिन्छ। खेलाडीमा प्रतिभा छ, जित्ने हुटहुटी छ र देशका लागि खेल्ने सपना पनि छ। तर, ती सपना साकार पार्ने पर्याप्त पूर्वाधार र आर्थिक आधार भने अझै कमजोर छ।

धनगढी र महेन्द्रनगरमा सञ्चालन भइरहेको १९ वर्षमुनिको राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताले यतिबेला सुदूरपश्चिमको क्रिकेट माहोल केही तताएको छ। नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दको प्रमुख आतिथ्यतामा उद्घाटन भएको प्रतियोगितामा सातै प्रदेशका युवा खेलाडीले आफ्नो प्रतिभा देखाइरहेका छन्। राउन्ड रोबिन प्रणालीमा भइरहेको प्रतियोगिताले नयाँ खेलाडीलाई राष्ट्रियस्तरमा आफूलाई प्रमाणित गर्ने अवसर दिएको छ।

तर, मैदानमा खेलाडीले देखाउने प्रदर्शन र मैदानबाहिर उनीहरूले भोगिरहेको संघर्षबीच ठूलो अन्तर छ। एकातिर सुदूरपश्चिमले राष्ट्रिय क्रिकेटमा आफ्नो उपस्थिति बलियो बनाउँदै लगेको छ, अर्कोतिर त्यही क्रिकेटको जग बलियो बनाउने पूर्वाधार, लगानी र अवसरको भने अभाव छ।

सुदूरपश्चिम नेपाली क्रिकेटका लागि नयाँ प्रतिभा उत्पादन गर्ने महत्वपूर्ण क्षेत्रका रूपमा स्थापित हुँदै गएको छ। सन् २०२४ नोभेम्बरमा विराटनगरमा सम्पन्न अघिल्लो संस्करणको यू–१९ राष्ट्रिय प्रतियोगिताको उपाधि सुदूरपश्चिमले नै जितेको थियो। नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सको सफलताले पनि प्रदेशमा क्रिकेटप्रतिको आकर्षण र उत्साह थप बढाएको छ।

तर, सफलताको यो चमकभित्र खेलाडीले भोगिरहेको संघर्ष कम चुनौतीपूर्ण छैन। पर्याप्त खेल मैदान छैनन्, अभ्यासका लागि आवश्यक पूर्वाधारको अभाव छ र खेल सामग्री जुटाउनसमेत कतिपय खेलाडीलाई कठिन छ। सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष वासुदेव जोशीका अनुसार खेलाडीहरूले न्यूनतम सुविधा नहुँदा पनि आफ्नै मिहिनेत र त्यागका भरमा क्रिकेटलाई निरन्तरता दिइरहेका छन्। ‘कतिपय खेलाडीले दैनिक खाजा खर्च कटाएर क्रिकेट सामग्री किन्ने र आफ्नो खेल सुधार्न लगानी गर्ने गरेका छन्,’ उनले भने। खेलाडीको यही समर्पणले सुदूरपश्चिमको क्रिकेटलाई यहाँसम्म पुर्‍याएको जोशीको भनाइ छ। उनले अभावका बीच पनि क्रिकेटप्रति निरन्तर लागिरहेका खेलाडीलाई धन्यवाद दिँदै उनीहरूको भविष्य सुरक्षित गर्न राज्यले जिम्मेवारी लिनुपर्ने आवश्यकता औँल्याए। 

सुदूरपश्चिम प्रदेश यू–१९ टोलीका कप्तान निराजन गौतम खेलाडीलाई मिहिनेत र अनुशासनका साथ अघि बढ्न प्रेरित गर्छन्। प्रतियोगितामा प्राप्त अवसरलाई सदुपयोग गर्दै राम्रो प्रदर्शन गर्नु नै खेलाडीको प्राथमिकता रहेको उनको भनाइ छ। तर, खेलाडीको व्यक्तिगत मिहिनेतले मात्र क्रिकेटको दीर्घकालीन विकास सम्भव छैन। खेलाडी उत्पादन गर्ने आधारभूत संरचना नै कमजोर हुँदा प्रतिभा पहिचान र विकासको प्रक्रिया प्रभावित हुने जोखिम छ।

क्यानका केन्द्रीय सदस्य विक्रम विष्ट यू–१९ प्रतियोगितालाई युवा खेलाडीका लागि आफूलाई प्रमाणित गर्ने महत्वपूर्ण मञ्चका रूपमा लिन्छन्। यस्ता प्रतियोगिताले खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता देखाउने र माथिल्लो तहमा पुग्ने अवसर प्रदान गर्ने उनको भनाइ छ। यद्यपि, प्रतियोगिता आयोजना गरेर मात्रै क्रिकेटको विकास सम्भव छैन। प्रतियोगिताबाट पहिचान भएका प्रतिभालाई नियमित प्रशिक्षण, खेल सामग्री, गुणस्तरीय मैदान र थप अवसर उपलब्ध गराउनु पनि उत्तिकै आवश्यक छ।

सुदूरपश्चिममा क्रिकेटको लोकप्रियता बढ्दै गए पनि प्रदेश सरकारको बजेट र प्राथमिकतामा खेल क्षेत्रले अपेक्षित स्थान पाउन नसकेको गुनासो सरोकारवालाको छ। विशेषगरी क्रिकेटका लागि पर्याप्त बजेट विनियोजन नहुँदा पूर्वाधार विकास र खेलाडीको क्षमता अभिवृद्धिमा समस्या भइरहेको उनीहरूको भनाइ छ। प्रादेशिक क्रिकेट संघका अध्यक्ष जोशीले प्रदेशका नौवटै जिल्लामा व्यवस्थित खेल मैदान निर्माण गर्न सरकारसँग आग्रह गरे। जिल्लास्तरमै खेल पूर्वाधार विकास गर्न सके स्थानीय स्तरबाटै प्रतिभा पहिचान र उत्पादन गर्न सहज हुने उनको धारणा छ। त्यस्तै, क्यानका केन्द्रीय सदस्य विष्टले पनि क्रिकेटको सम्भावनालाई व्यवहारमा रूपान्तरण गर्न प्रदेश सरकारको लगानी र प्राथमिकता आवश्यक रहेको बताए।

कमेन्ट लोड गर्नुस