सुदूरपश्चिमभर रोयल्सले विजय उत्सव मनाउने, पहाडबाट सुरु हुँदै ट्रफी टूर
धनगढीः नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जितेको सुदूरपश्चिम रोयल्सले प्रदेशभर विजय उत्सव मनाउने भएको छ। उपाधि जितेको खुसी समर्थकसँग साट्न रोयल्सले आगामी मंसिर १३ गतेदेखि ट्रफी टूर सञ्चालन गर्ने तयारी गरेको हो।
एक साता लामो कार्यक्रम तय गर्दै सुदूरपश्चिमका नौ जिल्लामै ट्रफी टूर गरिने रोयल्सले जनाएको छ। सुरुमा प्रदेशका पहाडी जिल्लामा ट्रफी टूर गर्दै उत्सव मनाइने छ। त्यसपछि कैलाली र कञ्चनपुरमा टूर सञ्चालन गरिने सुदूरपश्चिम रोयल्सले जनाएको छ। पहाडी जिल्लाबाट सुरु हुने ट्रफी टूरको अन्तिम कार्यक्रम धनगढीमा आयोजना हुनेछ।
प्रदेशका सबै जिल्लाका समर्थक, क्रिकेटप्रेमी तथा सर्वसाधारणलाई ऐतिहासिक जितको उत्सवमा सहभागी गराउने उद्देश्यले ट्रफी टूर आयोजना गर्न लागिएको रोयल्सले जनाएको छ। ट्रफी टूरको विस्तृत कार्यतालिका आज साँझसम्म सार्वजनिक गर्ने तयारी छ। कुन जिल्लाको कुन स्थानमा ट्रफी प्रदर्शन गर्ने र कुन दिन कहाँ कार्यक्रम आयोजना गर्ने भन्ने विवरणसहितको तालिका सार्वजनिक गरिनेछ।
सुदूरपश्चिम रोयल्सले एनपीएलको तेस्रो संस्करणमा पहिलोपटक उपाधि जितेको हो। यसअघि प्रतियोगिताका दुई संस्करणमा पनि फाइनलसम्म पुगेको रोयल्स दुवैपटक उपविजेतामै सीमित भएको थियो। तेस्रो प्रयासमा भने उपाधि जित्दै टोलीले सुदूरपश्चिमको क्रिकेट इतिहासमा नयाँ उपलब्धि थपेको छ।