वर्षाैदेखि पूर्वाधार कार्यालयमा जनप्रतिनिधिको चक्कर : कहिले बन्छ चौकीडाँडा–ओलानी सडक ?
धनगढीः सडक निर्माणका लागि सरकारी कार्यालय धाएको कति भयो होला ? एकपटक, दुईपटक वा दसपटक ? कैलालीको चौकीडाँडा–ओलानी सडकका लागि भने स्थानीय जनप्रतिनिधिले पटकपटक होइन, झन्डै ५० पटकसम्म पूर्वाधार विकास कार्यालय धाइसकेका छन्। तर सडकको अवस्था फेरिएको छैन। न निर्माण सम्पन्न भएको छ न त निर्माण व्यवसायीको काम गर्ने शैलीमा सुधार आएको छ।
छ वर्षअघि कालोपत्रे सुरु भएको सडक अझै अधुरै छ। सडक निर्माण सम्पन्न गर्न पटकपटक आग्रह गरियो, दबाब दिइयो र आन्दोलनसमेत भयो। गत वर्ष त निर्माण व्यवसायीको ढिलासुस्तीविरुद्ध वडा कार्यालय नै सडकमा सञ्चालन गरेर विरोध जनाइएको थियो। त्यसपछि प्रशासनको रोहबरमा निर्माण सम्पन्न गर्ने लिखित प्रतिबद्धता पनि गराइयो। तर, प्रतिबद्धता कागजमै सीमित भएपछि जनप्रतिनिधि फेरि उहीँ गुनासो बोकेर सरकारी कार्यालय धाउन बाध्य भएका छन्।
२०८२ भदौ २३ गते तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालको रोहबरमा निर्माण कम्पनीले पुस मसान्तभित्र काम सम्पन्न गर्ने सम्झौता गरेको थियो। तर, सम्झौताको समयसीमा सकिँदासमेत सडक निर्माणले पूर्णता पाउन सकेको छैन। यही विषयमा गोदावरी नगरपालिका–३, १०, ११ र १२ का वडाध्यक्ष फेरि पूर्वाधार विकास कार्यालय पुगेका हुन्।
कार्यालय धाउँदाधाउँदै आफूहरूलाई लाज लाग्न थालेको वडा नम्बर १२ का अध्यक्ष भीमबहादुर खड्का बताउँछन्। उनका अनुसार सडक निर्माणको विषय लिएर मात्रै करिब ५० पटक कार्यालय धाइसकिएको छ। तर हरेकपटक आश्वासनबाहेक केही हात लागेको छैन। ’अदालतमा तारेख बुझाउन आएको जस्तै अवस्था भएको छ। जनप्रतिनिधि भएर पनि कति दुःख छ, यहाँ धाउँदाधाउँदा आफैँलाई लाज लागिसक्यो। किन आउनुभएको भन्दा सडकका लागि आएका भन्न पनि लाज लाग्न थालेको छ,’ खड्काले भने, ’सडककै विषयमा ५० पटक आइसकेका छौँ। अब त लाज भइसक्यो।’
जनप्रतिनिधि र स्थानीयले यसअघि पनि सडक निर्माण छिटो सम्पन्न गर्न पटकपटक आन्दोलन गरेका थिए। तर आन्दोलनले कामको गति बढाउन सकेन। प्रशासनको रोहबरमा भएको सम्झौतासमेत कार्यान्वयन नभएपछि अब फेरि आन्दोलनमा उत्रिनुपर्ने अवस्था आएको खड्काको भनाइ छ।
निर्माण कम्पनीले तिहारपछि काम सुरु गर्ने आश्वासन दिए पनि अहिलेसम्म अपेक्षित प्रगति नभएको उनले बताए। चिसो बढेको, तापक्रम नपुगेको लगायतका बहाना बनाएर फेरि काम रोक्ने अवस्था आउन सक्ने भन्दै जनप्रतिनिधि अहिले नै कार्यालय धाउन थालेका हुन्। ’तिहारपछि काम गर्छौँ भनेका थिए। तर अझै सुरु भएको छैन। फेरि हिउँद लाग्यो, चिसो भयो, तापक्रम पुगेन भनेर विभिन्न बहाना बनाउँदै काम अड्काउने हुन् कि भन्ने चिन्ता छ,’ खड्काले भने, ’अब पनि काम भएन भने आन्दोलनमा जानुको विकल्प रहँदैन।’
चौकीडाँडा–ओलानी सडक निर्माणका लागि दुईवटा छुट्टाछुट्टै ठेक्का लगाइएको छ। तर दुवै ठेक्काको अवस्था उस्तै छ। निर्माण सम्पन्न गर्ने अवधि पटक–पटक गुज्रिसक्दा पनि सडकले कालोपत्रेको पूर्णता पाउन सकेको छैन। ०७७ साउन २४ गते एड्भेन्चर, थेगिम र सनलाइट जेभीले चौकीडाँडास्थित कृष्णमन्दिरदेखि गोदावरी नगरपालिका–१० को कार्यालयसम्मको अढाई किलोमिटर सडक कालोपत्रे गर्ने जिम्मा लिएको थियो। डेढ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको भए पनि उक्त खण्डको काम अझै पूरा हुन सकेको छैन।
त्यस्तै, वडा नम्बर १० को कार्यालयदेखि बांगेसालसम्मको थप तीन किलोमिटर सडक कालोपत्रे गर्न अर्को ठेक्का लगाइएको थियो। छ करोड ६१ लाख ४१ हजार रुपैयाँभन्दा बढी लागतको उक्त ठेक्का पनि निर्धारित समयमा सम्पन्न हुन सकेन। दोस्रो ठेक्का पाएको टेडी निर्माण सेवाले पुस ३० गतेभित्र काम हस्तान्तरण गर्ने सम्झौता गरेको थियो। तर अहिले पनि सबबेसमाथि बेस हाल्ने काम नै बाँकी छ।
निर्माण व्यवसायीको ढिलासुस्तीप्रति पूर्वाधार विकास कार्यालयसमेत असन्तुष्ट छ। कार्यालयका अनुसार निर्माण कम्पनीले नियमित रूपमा काम गरेको भए दुवै ठेक्काको काम चैतमै सम्पन्न हुन सक्थ्यो। प्रदेश सभाको सार्वजनिक लेखा समितिले समेत सडकको अनुगमन गरी निर्माण कार्य शीघ्र सम्पन्न गर्न निर्देशन दिएको थियो। तर समितिको निर्देशन, कार्यालयको ताकेता र स्थानीयको दबाबले पनि निर्माण व्यवसायीलाई काममा तीव्रता दिन बाध्य बनाउन सकेको छैन।
पूर्वाधार विकास कार्यालय धनगढीका प्रमुख तथा सिनियर डिभिजनल इन्जिनियर संगीत रोकायाका अनुसार सडक निर्माणमा भौतिक प्रगति निकै कमजोर छ। ठेक्काको म्याद सकिएपछि अहिले थप २०० दिनको म्याद अर्थात् एलडी पिरियडमा काम भइरहेको छ। उक्त अवधिमा पनि निर्माण सम्पन्न नभए ठेक्का तोड्ने प्रक्रियामा जाने कार्यालयको तयारी छ। ’म आएको पनि धेरै समय भएको छैन। तर खासै भौतिक प्रगति देखिएको छैन। ठेक्काको म्याद सकिएर अहिले २०० दिनको एलडी पिरियड चलिरहेको छ। यो अवधिमा पनि काम भएन भने ठेक्का तोड्ने प्रक्रियामा जान्छौँ,’ रोकायाले भने।
चौकीडाँडादेखि बान्द्रेखालसम्म करिब १६ किलोमिटर लामो यो सडकलाई फल्टुडेसम्म विस्तार गरी महाकाली राजमार्गसँग जोड्ने योजना छ। यसले गोदावरीको पहाडी क्षेत्रका बस्तीलाई सडक सञ्जालसँग जोड्नुका साथै स्थानीयको आवागमन र विकासमा महत्त्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ।