डडेल्धुराको जगन्नाथ मन्दिरमा सुरु भयो ‘खोलेइ जाँत’
धनगढीः डडेल्धुराको प्रसिद्ध धार्मिक स्थल जगन्नाथ देवताको मन्दिरमा परम्परागत ‘खोलेइ जाँत’ सुरु भएको छ। अजयमेरु गाउँपालिका–३ र ४ को सीमानामा रहेको जगन्नाथ मन्दिरमा बुधबार राति ‘रतेडी’ र बिहीबार दिउँसो ‘दिउसेडी’ मेला लाग्ने भएको हो।
स्थानीय भाषामा ‘खोलेइ जाँत’ नामले परिचित यस मेलामा राति लाग्ने मेलालाई ‘रतेडी’ र दिउँसो लाग्ने मेलालाई ‘दिउसेडी’ भन्ने गरिन्छ। गुनपाल, चौडी, चिपुर र मड गरी चारवटै गाउँबाट बाजागाजासहित ‘देउरो’ मन्दिरमा ल्याएर जात्रा सुरु गर्ने परम्परा छ।
मेलाको मुख्य दिन मन्दिरमा पूजाआजा गर्ने र प्रसादका रूपमा ‘तिलाख’ ग्रहण गर्ने भक्तजनको घुइँचो लाग्ने गर्दछ। सुदूरपश्चिमका विभिन्न जिल्लाबाट समेत श्रद्धालुहरू जगन्नाथ देवताको दर्शनका लागि आउने गरेका छन्।
परम्परागत धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको यस मेलालाई मर्यादित र व्यवस्थित बनाउन मन्दिर तथा मेला परिसरमा मदिराको बिक्रीवितरण र सेवनसँगै जुवातास खेल्न पूर्ण रूपमा निषेध गरिएको छ।