सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सातौँ सुदूरपश्चिम खप्तड गोल्डकप हुँदै, विजेतालाई २१ लाख पुरस्कार

२०८३ मंसिर ६, ०४:४६ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशको प्रतिष्ठित फुटबल प्रतियोगिता ‘अन्तर्राष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकप’ आगामी पुस २१ गतेदेखि आयोजना हुने भएको छ। सुदूरपश्चिम–११ स्पोर्ट्स क्लब धनगढीको आयोजनामा माघ १ गतेसम्म धनगढी रंगशालामा प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ।

क्लबका अध्यक्ष योगेन्द्र चन्दका अनुसार प्रतियोगिताको विजेताले २१ लाख एक रुपैयाँ र उपविजेताले ११ लाख एक रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल वा स्कुटर प्रदान गरिनेछ। विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई जनही २५ हजार रुपैयाँ तथा प्रत्येक खेलको म्यान अफ द म्याचलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। विजेता तथा उपविजेतालाई ट्रफी, मेडल र प्रमाणपत्रसमेत प्रदान गरिनेछ।

क्लबका महासचिव प्रकाश शाहीका अनुसार सुदूरपश्चिम प्रदेशमा फुटबल खेलको विकास र विस्तारसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रदेशको पहिचान स्थापित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो। ०७३ सालदेखि खप्तड गोल्डकप आयोजना गर्दै आएको क्लबले यसवर्ष प्रतियोगितालाई थप व्यवस्थित, भव्य र अन्तर्राष्ट्रिय स्तरको बनाउने लक्ष्य राखेको छ।

प्रतियोगितामार्फत सुदूरपश्चिमका प्रतिभावान खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीसँग प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्नुका साथै युवामा फुटबलप्रतिको आकर्षण बढाउने, खेल पर्यटनको विकास गर्ने र प्रदेशको आर्थिक, सामाजिक तथा सांस्कृतिक पहिचान प्रवर्द्धन गर्ने आयोजकको अपेक्षा छ।

प्रतियोगिता सफल बनाउन प्रदेश सरकार, स्थानीय तह, निजी क्षेत्र, उद्योगी, व्यवसायी, खेलकुदसँग सम्बन्धित संघसंस्था तथा खेलप्रेमीलाई सहयोग गर्न आयोजकले आग्रह गरेको छ। यसैबीच, खप्तड गोल्डकपलाई स्थापित गर्न योगदान पुर्‍याएका क्लबका स्वर्गीय सुरेश हमालको योगदानलाई आयोजकले स्मरण गरेको छ। हमालकै नेतृत्वमा सुदूरपश्चिम प्रदेशमा पहिलोपटक गोल्डकप आयोजना भएको थियो।

कमेन्ट लोड गर्नुस