विदेशको अनुभव स्वदेशमै प्रयोग गर्दै युगल, धनगढीमा खोले ‘द हिडेन प्याराडाइज’
धनगढीः वैदेशिक रोजगारीबाट फर्किएपछि धेरै युवा पुनः विदेश जाने योजना बनाउँछन्। तर, केही युवाले भने विदेशमा आर्जन गरेको सीप, अनुभव र पुँजीलाई आफ्नै ठाउँमा लगानी गरेर नयाँ सम्भावना खोजिरहेका छन्। यस्तै उदाहरण बनेका छन् धनगढीका युवा युगल भट्ट। उनले विदेशमा सिकेको अनुभवलाई स्वदेशमै प्रयोग गर्दै धनगढीमा होटल तथा पर्यटन व्यवसाय सुरु गरेका छन्।
धनगढी उपमहानगरपालिका–३, चटकपुरमा उनले ‘द हिडेन प्याराडाइज’ नामक रिसोर्ट सञ्चालनमा ल्याएका हुन्। विदेशमा काम गर्दा पर्यटन तथा आतिथ्य सत्कार क्षेत्रबारे हासिल गरेको अनुभवलाई आफ्नै व्यवसायमार्फत कार्यान्वयन गर्ने उद्देश्यले उनले लगानी गरेका हुन्।
गोविन्द भट्ट र पुष्पादेवी भट्टका छोरा युगलले पढाइसँगै विदेशमा काम गर्दै व्यावसायिक अनुभव बटुलेका थिए। विदेशमा सिकेको सीप र कमाएको पुँजीलाई आफ्नै ठाउँमा उपयोग गर्न सके स्वरोजगारसँगै अरूलाई पनि रोजगारी दिन सकिने उनको सोच छ। पछिल्लो समय रोजगारी र अवसरको खोजीमा युवाहरू विदेशिने क्रम बढिरहेका बेला युगलले भने धनगढीमै सम्भावना खोज्ने प्रयास गरेका छन्। आफ्नै ठाउँमा केही गर्ने इच्छाशक्ति भए स्वदेशमै पनि व्यवसाय सञ्चालन गर्न सकिने उनको विश्वास छ।
रिसोर्ट सञ्चालनमा ल्याए पनि उनको योजना यतिमै सीमित छैन। भविष्यमा यसलाई पाँचतारे होटलका रूपमा विस्तार गर्ने लक्ष्य उनले राखेका छन्। धनगढीमा बढ्दै गएको होटल तथा पर्यटन क्षेत्रको सम्भावनालाई समेत उनले आफ्नो व्यावसायिक योजनाको आधार बनाएका छन्। रिसोर्टको उद्घाटन धनगढी उपमहानगरपालिका–३ का वडाअध्यक्ष राजबहादुर ऐर, वडा नम्बर ४ का अध्यक्ष बुद्धिबहादुर खड्का, होटल व्यवसायी संघ कैलालीका अध्यक्ष केशवराज पाण्डेयलगायतको उपस्थितिमा गरिएको हो।