सुदूर नेपाललाई विश्वसँग जोड्दै

एनपीएलका आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा

२०८३ मंसिर ६, १०:०० खबर संवाददाता

काठमाडौंः नेपाल प्रिमियर लिग (एनपिएल) को विजेता सुदूरपश्चिम रोयल्सलाई बधाई दिँदै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नेपाली क्रिकेटको पूर्वाधार विकासका लागि महत्त्वपूर्ण घोषणा गरेका छन्। शनिबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री शाहले एनपीएलको छैटौँ संस्करणदेखि होम एन्ड अवे प्रणालीमा प्रतियोगिता सञ्चालन गर्ने लक्ष्यसहित रंगशाला निर्माण गर्न लागिएको जानकारी दिएका हुन्।

उनका अनुसार आठवटै क्रिकेट रंगशाला नेपाल सरकारको पूर्वाधार विकास मन्त्रालयले निर्माण गर्नेछ। सुदूरपश्चिममा फाप्ला क्रिकेट रंगशालाको निर्माण प्रक्रिया अघि बढिसकेको छ भने आगामी तीन महिनाभित्र अन्य सबै रंगशालाको निर्माण प्रक्रिया पनि सुरु गरिने प्रधानमन्त्री शाहले बताएका छन्।

प्रधानमन्त्री शाहले विभिन्न क्लबका लागि प्रस्तावित घरेलु मैदानसमेत सार्वजनिक गरेका छन्। जसअनुसार विराटनगर किंग्सका लागि बैजनाथपुर क्रिकेट रंगशाला, लुम्बिनी लायन्सका लागि सिद्धार्थ क्रिकेट रंगशाला, कर्णाली याक्सका लागि सुर्खेत क्रिकेट रंगशाला र काठमाडौं गुर्खाजका लागि कीर्तिपुर क्रिकेट मैदान घरेलु मैदानका रूपमा रहनेछन्।

आठवटै क्लबका आफ्नै फ्लडलाइटयुक्त रंगशाला निर्माण भएपछि एनपीएललाई होम एन्ड अवे प्रणालीमा सञ्चालन गर्न सहज हुने सरकारको लक्ष्य देखिएको छ। यसले नेपाली क्रिकेटको पूर्वाधार विकाससँगै देशका विभिन्न क्षेत्रमा क्रिकेट गतिविधि विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कमेन्ट लोड गर्नुस