सुदूर नेपाललाई विश्वसँग जोड्दै

धान बेच्न सरकारी खरिद केन्द्र पुग्छन् किसान, कोटा नपुग्दा व्यापारीकै भर

२०८३ मंसिर २, ०९:२८ खबर संवाददाता

धनगढीः कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ का किसान अमरसिंह बडायकले अघिल्लो वर्ष समर्थन मूल्यमा धान बिक्री गर्न पाएनन्।

सरकारी खरिद कोटा कम हुँदा त्यसको लाभ लिन नसकेको उनको भनाइ छ। मंगलबार कैलालीको मोहनपुर धान खरिद केन्द्रमा पुगेका बडायक यसवर्ष पनि धान बेच्न नपाउने चिन्तामा थिए। 
गोदावरी नगरपालिकाका किसान शेरबहादुर रोकायको अनुभव पनि उस्तै छ। उनले गतवर्ष आफ्नो उत्पादनमध्ये ५० क्विन्टल धान मात्रै सरकारी समर्थन मूल्यमा बिक्री गर्न पाएका थिए। वार्षिक उत्पादन करिब १५० क्विन्टल गर्दै आएका उनले सरकारी खरिदको सीमाका कारण बाँकी धानमध्ये केही घरायसी प्रयोजन र बीउका लागि राख्नुपरेको तथा ठूलो परिमाणमा गल्ला व्यापारीलाई बेच्नुपरेको उनले बताए।
`मैले ५० क्विन्टल सरकारी मूल्यमा बेचेँ, ३० क्विन्टल बीउ र घरका लागि राखेँ। बाँकी ७० क्विन्टल गल्ला व्यापारीलाई बेच्नुपर्‍यो। बाहिर बेच्दा करिब ६५ हजार रुपैयाँ घाटा लाग्यो,´ रोकायले भने।

कैलालीमा सरकारले धान खरिद सुरु गरे पनि न्यून कोटाका कारण अधिकांश किसानले आफ्नो उत्पादन सरकारी समर्थन मूल्यमा बिक्री गर्न नपाउने अवस्था देखिएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मंगलबारदेखि जिल्लाका छ स्थानमा खरिद केन्द्र सञ्चालन गरे पनि जिल्लाको उत्पादनको तुलनामा खरिद कोटा निकै कम छ।

कम्पनीको धनगढीस्थित प्रादेशिक कार्यालयका अनुसार मोहनपुर, टीकापुर, गौरीगंगा, सत्ती, भजनी र जोशीपुरमा खरिद केन्द्र सञ्चालन गरिएको छ। चालु आर्थिक वर्षका लागि धनगढी शाखाले ३० हजार क्विन्टल धान खरिद गर्ने कोटा पाएको छ। तर, जिल्लामा उत्पादन हुने धानको ठूलो हिस्सा सरकारी खरिदको दायराबाहिर रहने देखिएको छ।

किसानको उत्पादनलाई समर्थन मूल्यमा खरिद गर्न पर्याप्त कोटा नभएपछि कम्पनीको धनगढी शाखाले थप तीन लाख क्विन्टल धान खरिदको व्यवस्था मिलाउन केन्द्रीय कार्यालयसँग माग गरेको छ। कार्यालय प्रमुख दीपक थापाका अनुसार थप कोटाका लागि प्रस्ताव पठाइए पनि केन्द्रबाट निर्णय आइसकेको छैन। केन्द्रीय कार्यालयले स्वीकृति दिएपछि मात्रै थप कोटा निर्धारण हुनेछ।

कमेन्ट लोड गर्नुस