सुदूर नेपाललाई विश्वसँग जोड्दै

सी, ट्रम्प र पुटिनबिच नोभेम्बर १९ मा शेन्जेनमा त्रिपक्षीय शिखर बैठक हुने

२०८३ कार्तिक ३०, ०९:४५ खबर संवाददाता

बेइजिङ: चीनका राष्ट्रपति सी जिनपिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच आगामी नोभेम्बर १९ मा चीनको शेन्जेनमा पहिलो त्रिपक्षीय शिखर बैठक हुने पुष्टि भएको छ।

तीन प्रमुख शक्तिराष्ट्रका प्रमुखहरूबिच हुन लागेको यस बैठकलाई क्षेत्रीय तथा अन्तर्राष्ट्रिय कूटनीतिक दृष्टिले निकै महत्त्वपूर्ण मानिएको छ। चिनियाँ विदेश मन्त्रालयले सोमबार एक संक्षिप्त विज्ञप्ति जारी गर्दै राष्ट्रपति सीले नोभेम्बर १९ मा शेन्जेनमा रुसी र अमेरिकी समकक्षीसँग भेटवार्ता गर्ने उल्लेख गरेको छ । यद्यपि बैठकमा छलफल हुने विषय र कार्यसूचीबारे मन्त्रालयले थप विवरण सार्वजनिक गरेको छैन।

यो उच्चस्तरीय भेटवार्ता चीनको गुआङ्दोङ प्रान्तमा हुन लागेको एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) प्रमुख कार्यकारी अधिकृत (सीइओ) शिखर सम्मेलनसँग समेत जोडिएको छ। चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन परिषद् (सिसिपिआइटी) ले आइतबार दिएको जानकारीअनुसार नोभेम्बर १७ र १८ मा हुने उक्त सम्मेलनमा राष्ट्रपति सीसहित एपेकका १२ सदस्य अर्थतन्त्रका नेताहरू सहभागी हुनेछन्।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार सिसिपिआइटीका उपाध्यक्ष ली छिङ्सुआङले पत्रकार सम्मेलनमार्फत अस्ट्रेलिया, क्यानाडा, चिली, हङकङ, इन्डोनेसिया, दक्षिण कोरिया, मलेसिया, मेक्सिको, रुस, थाइल्यान्ड, भियतनाम र आयोजक चीनका प्रतिनिधिहरूले सम्मेलनका विभिन्न सत्रमा सम्बोधन गर्ने वा सहभागिता जनाउने जानकारी दिएका थिए।

राजनीतिक नेतृत्वसँगै सम्मेलनमा विश्वका ठूला व्यावसायिक संस्थाका प्रतिनिधिहरूको पनि उल्लेख्य सहभागिता रहनेछ। ‘फच्र्युन ग्लोबल ५००’ सूचीमा रहेका ११५ कम्पनीका कार्यकारीहरू सम्मेलनमा सहभागी हुनेछन्। उपाध्यक्ष लीका अनुसार मुख्य भूमि चीनबाहिरका मुलुक तथा क्षेत्रबाट आउने प्रतिनिधिमण्डलमध्ये अमेरिकी उद्यमहरूको सहभागिता सबैभन्दा ठूलो हुनेछ। सम्मेलनमा सहभागी हुने कुल कम्पनीमध्ये करिब २० प्रतिशत अमेरिकी हुनेछन्।

सम्मेलनमा अमेरिका, रुस र जापानका व्यापारिक सङ्घका नेताहरूका साथै विभिन्न अन्तर्राष्ट्रिय संस्थाका प्रमुखहरू पनि सहभागी हुनेछन्। ‘सँगै समृद्धि हासिल गर्ने र भविष्य जित्ने’ नारासहित आयोजना हुने यस मञ्चले एपेकका आर्थिक नेताहरूको बैठकका क्रममा सरकारी नीति र निजी क्षेत्रका व्यावसायिक प्राथमिकताबिच समन्वय बढाउने अपेक्षा गरिएको छ।

सम्मेलनका छलफलमा आपूर्ति शृङ्खलालाई थप भरपर्दो बनाउने, क्षेत्रीय व्यापारिक प्रक्रियालाई सहज तुल्याउने तथा डिजिटल र हरित अर्थतन्त्रका क्षेत्रमा संयुक्त लगानी र सहकार्य विस्तार गर्ने विषय प्राथमिकतामा रहनेछन्। यसैबिच, आगामी नेताहरूको शिखर सम्मेलनका लागि निजी क्षेत्रका नीतिगत सुझाव तयार पार्न एपेक व्यापार सल्लाहकार परिषद्को चौथो बैठक नोभेम्बर १४ मा शेन्जेनमा सुरु भएको थियो। परिषद्ले निजी क्षेत्रका सुझावलाई समेटेर आगामी नेताहरूको बैठकमा प्रस्तुत गर्ने तयारी गरेको छ।

कमेन्ट लोड गर्नुस