सुदूर नेपाललाई विश्वसँग जोड्दै

जलवायु सम्झौतामा १.५ डिग्रीको लक्ष्यलाई लिएर राष्ट्रहरूबिच मतभेद

२०८३ कार्तिक २९, ०४:३९ रासस

काठमाडौँ :विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभित्र सीमित राख्ने लक्ष्यबारे यस वर्षको संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–३१) मा मतभेद देखिएको छ । एक दशकदेखि जलवायु परिवर्तन नियन्त्रणको प्रमुख लक्ष्यका रूपमा रहेको १.५ डिग्रीको सीमाबारे राष्ट्रहरूबीच अन्योल बढेको हो ।

संयुक्त राष्ट्रसंघले गत सेप्टेम्बरमा औद्योगिक युगअघिको तुलनामा विश्वको तापक्रम १.५ डिग्री सेल्सियसभन्दा माथि पुग्ने अवस्था अब निकट र टार्न नसकिने घोषणा गरेको थियो । हालसम्म पृथ्वीको औसत तापक्रम करिब १.४ डिग्री सेल्सियसले बढिसकेको छ ।

टर्कीएको अन्ताल्यामा जारी कोप–३१ सम्मेलनमा केही राष्ट्रहरूले भने १.५ डिग्रीको लक्ष्य कायम राख्नुपर्ने अडान लिएका छन् । विशेषगरी जलवायु परिवर्तनको प्रत्यक्ष जोखिममा रहेका साना टापु राष्ट्रहरूले यसलाई आफ्नो अस्तित्वसँग जोडेर हेरेका छन् ।

प्रशान्त महासागरस्थित पलाउका राष्ट्रपति सुराङ्गेल ह्विप्स जुनियरले १.५ डिग्रीको लक्ष्य आफ्नो देशको खाद्य सुरक्षा, अर्थतन्त्र र सार्वभौमिकतासँग जोडिएको विषय भएको बताएका छन् ।

अस्ट्रेलियाले सार्वजनिक गरेको वार्ता प्राथमिकतासम्बन्धी विवरणअनुसार केही देशहरूले अन्तिम सम्झौतामा १.५ डिग्रीलाई अझै पनि सही लक्ष्यका रूपमा स्वीकार गर्नुपर्ने माग गरेका छन् ।

तर, केही राष्ट्रहरूले भने उक्त लक्ष्यलाई सम्झौताबाट हटाउने प्रयास गरिरहेको बताइएको छ । यसमा साउदी अरब र भारतलगायतका देश समेटिएका अरब समूह तथा समान विचारधारा भएका विकासशील राष्ट्रहरूको समूह रहेको वार्तासम्बन्धी स्रोतहरूले बताएका छन् ।

ग्रीनपिसका प्रतिनिधि ज्यास्पर इन्भेन्टरका अनुसार केही विकासशील देशहरू आर्थिक सहयोगबिना उत्सर्जन घटाउन थप दबाब पर्ने चिन्तामा छन् ।

यसैबीच, संयुक्त राष्ट्रसंघका निवर्तमान महासचिव एन्टोनियो गुटेरेसले तापक्रम १.५ डिग्रीभन्दा माथि पुगे पनि यस्तो अवस्था सकेसम्म छोटो समयसम्म मात्र रहनुपर्ने बताएका छन् ।

वैज्ञानिकहरूका अनुसार १.५ डिग्रीको सीमा पार भएपछि भीषण बाढी, गर्मीको लहर र मुगा चट्टानको स्थायी विनाशजस्ता जोखिम बढ्नेछन् ।

एक्सेटर विश्वविद्यालयका जलवायु वैज्ञानिक पियरे फ्रिडलिङस्टाइनका अनुसार तापक्रम पुनः १.५ डिग्रीमा झार्न उत्सर्जन तीव्र रूपमा घटाउनुका साथै वृक्षरोपण, सिमसार संरक्षण र नयाँ प्रविधिको व्यापक प्रयोग आवश्यक हुनेछ । उनले यो लक्ष्य असम्भव नभए पनि अत्यन्तै चुनौतीपूर्ण रहेको बताएका छन् ।

कमेन्ट लोड गर्नुस