मंसिर ३ गतेसम्म तराईमा हुस्सु, पहाडी र हिमाली भेगमा वर्षा तथा हिमपातको सम्भावना
काठमाडौँ: आगामी मंसिर ३ गतेसम्म देशका विभिन्न क्षेत्रमा मौसममा बदली हुने भएको छ।
तराईका केही स्थानमा हुस्सु लाग्ने सम्भावना रहे पनि तत्काल वर्षाको सम्भावना भने नरहेको नेपाल मौसम विज्ञान विभागकी मौसमविद् अनिषा निरौलाले जानकारी दिएकी छन्। निरौलाका अनुसार तराई क्षेत्रमा आगामी बिहीबारसम्म थोरै स्थानमा हुस्सु लाग्ने सम्भावना छ। तराईमा आगामी साताभर वर्षाको सम्भावना देखिएको छैन।
पहाडी भेगमा भने केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित वर्षा हुने सम्भावना छ। आगामी आइतबारदेखि मंगलबारसम्म गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा अर्थात् १० देखि ३० प्रतिशत भूभागमा मध्यमसम्मको वर्षा हुन सक्ने मौसमविद् निरौलाले बताइन्।
यस्तै शनिबार तथा बुधबार र बिहीबार पनि पहाडी भेगका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा भने बिहीबारसम्म एक–दुई स्थान अर्थात् करिब १० प्रतिशत भूभागमा हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ।
हिमाली भेगमा पनि केही दिन वर्षा र हिमपातको सम्भावना रहेको छ। आगामी आइतबारदेखि मंगलबारसम्म गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा मध्यमसम्मको हिमपात वा वर्षा हुन सक्ने निरौलाले जानकारी दिइन्।
यसैगरी, शनिबार तथा बुधबार र बिहीबार पनि ती प्रदेशका हिमाली भेगका एक–दुई स्थानमा मध्यमसम्मको हिमपात वा वर्षा हुन सक्ने सम्भावना छ। कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रमा भने बिहीबारसम्म एक–दुई स्थानमा हल्का हिमपात वा वर्षा हुन सक्ने अनुमान गरिएको छ।