जानकी गाउँपालिका–८ को चारदिने अध्ययन तथा अवलोकन भ्रमण सम्पन्न
कैलाली : कैलालीको जानकी गाउँपालिका–८ द्वारा आयोजित चारदिने अध्ययन तथा अवलोकन भ्रमण सम्पन्न भएको छ।
वडा कार्यालय जवलपुरले आर्थिक वर्ष २०८३/०८४ को वडास्तरीय योजना तथा कार्यक्रमअन्तर्गत भ्रमण आयोजना गरेको हो।
‘शिक्षा, स्वास्थ्य, कृषि र वातावरणमैत्री पूर्वाधारः पहिचानसहितको जानकी गाउँपालिका विकासको मूल आधार’ भन्ने नारासहित कार्तिक २० गतेदेखि २३ गतेसम्म भ्रमण सञ्चालन गरिएको थियो।
भ्रमणका क्रममा सहभागीहरूले रुपन्देही हुँदै कास्कीको पर्यटकीय नगरी पोखरासम्म पुगेर विभिन्न स्थानमा भएका विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि तथा वातावरणमैत्री पूर्वाधारको अध्ययन तथा अवलोकन गरेका थिए।
स्थानीय तहमा विकास निर्माण तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरिएको भ्रमणबाट अन्य स्थानमा भएका असल अभ्यास, अनुभव र सिकाइलाई आफ्नो वडाको विकासमा उपयोग गर्ने अपेक्षा गरिएको वडा कार्यालयले जनाएको छ।
भ्रमण सफल बनाउन सहयोग गर्ने जनप्रतिनिधि, कर्मचारी, सहभागी तथा सहयोगी सबैप्रति वडा कार्यालयले आभार व्यक्त गरेको छ। साथै, तिहार तथा छठ पर्वको अवसरमा गाउँपालिकावासीसहित स्वदेश तथा विदेशमा रहेका नेपालीहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना पनि व्यक्त गरेको छ।