बाजुराबाट सुत्केरी र नवजात शिशुको हेलिकप्टरमार्फत उद्धार
बाजुरा: बाजुराको कोल्टी आधारभूत अस्पतालबाट एक सुत्केरी र उनका नवजात शिशुको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।
मुगुको खत्याड गाउँपालिका–९ की २० वर्षीया देवकी खड्काले अस्पतालमा शिशुलाई जन्म दिएपछि नवजात शिशुको स्वास्थ्यमा जटिल समस्या देखिएको थियो। थप उपचार आवश्यक भएपछि जिल्ला प्रशासन कार्यालय बाजुराको समन्वय तथा राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत आमा र शिशुलाई हेलिकप्टरबाट सुर्खेत लगिएको प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जानकारी दिए।
दुर्गम क्षेत्रका जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार गर्ने उद्देश्यले सरकारले राष्ट्रपति महिला उत्थान कार्यक्रम सञ्चालन गर्दै आएको छ।