चाडपर्वले नेपालीलाई एकताको सूत्रमा बाँध्न प्रेरित गरोस् : प्रदेश प्रमुख मियाँ
कैलालीः सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले चाडपर्वले आपसी रिस, राग र द्वेष बिर्सेर सबै नेपालीलाई एकताको सूत्रमा बाँध्न प्रेरित गर्ने बताएका छन्। तिहार, छठ पर्व २०८३ तथा नेपाल संवत् ११४७ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस्ता पर्वहरूले राष्ट्र र राष्ट्रियताप्रतिको गहिरो प्रेम, सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुता अभिवृद्धि गर्न थप प्रेरणा मिलोस् भन्ने कामना गरेका छन्।
प्रदेश प्रमुख मियाँले तिहार र छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको कामना गरेका छन्।
उनले तिहारलाई मानव र अन्य जीवजन्तुबीचको सुसम्बन्धको प्रतीकका रूपमा उल्लेख गर्दै काग, कुकुर, गाईलगायतका जनावर तथा गोवर्धन पर्वतको पूजा अर्चना गरिने यस पर्वले प्रकृति र जीवजन्तुप्रतिको सम्मान झल्काउने बताएका छन्।
उज्यालो पर्व एवं दीपावलीका रूपमा समेत चिनिने तिहारले आपसी सद्भाव अभिवृद्धि गर्नुका साथै मौलिक संस्कृतिको पुस्तान्तरणमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको उनले उल्लेख गरेका छन्।
त्यसैगरी, राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल संवत् नेवार समुदायको मौलिक संस्कृति र परम्परासँग जोडिएको उल्लेख गर्दै उनले नयाँ वर्षका रूपमा मनाइने यस संवत्ले सांस्कृतिक पहिचानको संरक्षणमा योगदान पुर्याएको बताएका छन्।
छठ पर्वले पनि धार्मिक तथा सांस्कृतिक विविधताबीच एकता र सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको उनको भनाइ छ।
यी चाडपर्वले विश्वका विभिन्न स्थानमा छरिएर रहेका नेपालीहरूबीच आपसी सद्भाव, सहिष्णुता, भ्रातृत्व एवं पारस्परिक सहयोगको भावना थप प्रगाढ बनाउने विश्वाससमेत उनले व्यक्त गरेका छन्।