सुदूर नेपाललाई विश्वसँग जोड्दै

फूलखेतीले फेरियो बिष्ट दम्पतीको जीवन

२०८३ कार्तिक २१, १०:०७ खबर संवाददाता

धनगढी : धनगढी उपमहानगरपालिका–१३ राजपुरका चन्द्रदेव बिष्ट र उनकी श्रीमती गीता बिष्टको दैनिकी अहिले फूलबारीमै बित्ने गरेको छ। सात वर्षअघि सामान्य रूपमा सुरु गरेको फूलखेती अहिले उनीहरूको आम्दानीको भरपर्दो स्रोत बनेको छ। यही व्यवसायले बिष्ट दम्पतीलाई सफल पुष्प व्यवसायीका रूपमा समेत परिचित गराएको छ।

बिष्ट दम्पतीले ‘मालिकार्जुन कृषि फर्म’ दर्ता गरेर व्यावसायिक रूपमा फूलखेती गर्दै आएका छन्। कुनै समय सानो पसल भाडामा लिएर जीविकोपार्जन गर्ने उनीहरूको जीवनशैली अहिले फेरिएको छ। पसलबाट आम्दानी बढाउँदै उनीहरूले आफ्नै घर र जग्गा जोडे। गीताले पसलमै सिलाइकटाइको कामसमेत गर्थिन्। अहिले उनीहरूले आफ्नै घरमा किराना पसल सञ्चालन गरिरहेका छन्। गाईभैंसी पालनलाई निरन्तरता दिँदै फूलखेतीलाई पनि आम्दानीको बलियो आधार बनाएका छन्।

कृषि क्षेत्रमा केही नयाँ गर्ने सोचले बिष्ट दम्पतीले फूलखेती सुरु गरेका हुन्। सात वर्षअघि धनगढीमा व्यावसायिक फूलखेती गर्ने किसानको संख्या निकै कम थियो। सुरुवातमा थोरै क्षेत्रफलमा फूल रोपेका उनीहरूले उत्पादनले स्थानीय बजारमा राम्रो मूल्य र माग पाएपछि खेती विस्तार गर्ने हौसला पाए।

२०७९ सालदेखि धनगढी उपमहानगरपालिकाबाट प्राप्त सहयोगले उनीहरूलाई थप प्रेरणा मिल्यो। उपमहानगरपालिकाले पुष्पखेती गर्ने किसानलाई तालिम, बीउबिजन, सिँचाइ तथा उत्पादित फूलको बजारीकरणमा सहयोग गर्दै आएको छ। कृषि ज्ञान केन्द्रबाट समेत अनुदान र अन्य सहयोग प्राप्त भएपछि व्यवसाय सञ्चालन गर्न सहज भएको गीता बिष्ट बताउँछिन्।

कृषि पेसामै हुर्किएकी गीतालाई सानैदेखि फूलखेतीप्रति आकर्षण थियो। श्रीमानको साथ र निरन्तर मेहनतले आफूहरूलाई यो अवस्थामा पुर्‍याएको उनको अनुभव छ। वर्षौंदेखि विभिन्न व्यवसाय गर्दै आएका उनीहरूका लागि फूलखेती जीवन परिवर्तन गर्ने माध्यम बनेको छ।

चन्द्रदेव पनि श्रीमतीको मेहनत र लगनशीलताबाट उत्साहित छन्। उनी फूल उत्पादनदेखि बजारीकरणसम्म श्रीमतीलाई सघाउँदै आएका छन्। वर्षभरि फूल उत्पादन गर्ने लक्ष्यसहित उनीहरूले मखमली र सयपत्री फूलखेती गरिरहेका छन्। 

व्यवसायमा दुई जनालाई नियमित रोजगारी दिएका उनीहरूले फूल फुल्ने सिजनमा थप कामदारसमेत राख्ने गरेका छन्।
चन्द्रदेवका अनुसार फूलखेतीबाट वार्षिक १० देखि १५ लाख रुपैयाँसम्मको कारोबार हुने गरेको छ। उनीहरूले उत्पादन गरेका फूलको माग धनगढीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा समेत छ। प्रदेशबाहिरका बजारमा पनि फूल पठाउने गरिएको छ। धनगढी उपमहानगरपालिकाले फूलखेती गर्ने किसानका लागि कोल्डस्टोरको व्यवस्था गरेपछि उत्पादन सुरक्षित राख्न र व्यवसाय विस्तार गर्न थप सहज भएको उनको भनाइ छ।

तर, फूलखेतीमा चुनौती पनि उत्तिकै छन्। वर्षात् र विभिन्न किराको प्रकोपका कारण फूलमा क्षति पुग्ने गरेको चन्द्रदेव बताउँछन्। मौसम प्रतिकूल हुँदा उत्पादन घट्ने र लगानीसमेत जोखिममा पर्ने गरेको उनको अनुभव छ। धनगढीमा प्लास्टिकका फूलमाला प्रयोगमा प्रतिबन्ध लगाएपछि स्थानीय पुष्प व्यवसायीका लागि थप अवसर सिर्जना भएको छ। स्थानीय फूलको माग बढ्दा किसानले बजार विस्तारसँगै रोजगारीका अवसरसमेत सिर्जना गर्न सकेका छन्। बिष्ट दम्पतीले अहिले एउटा फूलमाला एक सय रुपैयाँमा बिक्री गर्दै आएका छन्। त्यसैगरी, फूल प्रतिकिलो तीन सय ५० देखि चार सय रुपैयाँसम्ममा बिक्री हुने गरेको छ।

फूलखेतीलाई अझ व्यावसायिक र व्यवस्थित बनाउन स्थानीय तथा प्रदेश सरकारले अनुदान, प्राविधिक सहयोग र बजार व्यवस्थापनका कार्यक्रमलाई निरन्तरता दिनुपर्ने उनीहरूको माग छ। उचित सहयोग र बजारको सुनिश्चितता हुन सके सुदूरपश्चिममा पुष्प व्यवसायको सम्भावना अझ विस्तार हुने उनीहरूको विश्वास छ।

कमेन्ट लोड गर्नुस