प्रलोभन, प्रेमसम्बन्ध र खुला सीमाः जोखिममा सुदूरपश्चिमका महिला तथा बालबालिका
धनगढीः खुला सीमा नाका, रोजगारीको प्रलोभन र प्रेमसम्बन्ध तथा भागी विवाहका कारण सुदूरपश्चिमका महिला तथा बालबालिकाको ओसारपसार र बेचबिखनको जोखिम कायमै छ।
विशेषगरी परिवारलाई जानकारी नदिई प्रेमसम्बन्ध वा भागी विवाहका नाममा भारत जाने महिला तथा बालबालिका सीमा नाकाबाट उद्धार हुँदै आएका छन्। सुदूरपश्चिमेलीले आवागमन गर्ने मुख्य नाकामध्येको एक त्रिनगरबाट दैनिक रुपमा महिला तथा बालबालिकाको उद्दार हुने गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ मा महिला तथा बालबालिकासहित ३७० जनाको उद्धार गरिएको थियो। उद्धार गरिएकामध्ये १८६ महिला, सात बालक र १७७ बालिका थिए। आर्थिक वर्ष २०८१/८२ मा उद्धार गरिएकाको संख्या बढेर ६१२ पुगेको थियो। जसमा ४३१ महिला, ७० बालक र १११ बालिका थिए।
आर्थिक वर्ष २०८२/८३ मा भने २७९ जनाको उद्धार गरिएको प्रहरीको तथ्यांक छ। तीमध्ये ११९ महिला, १३ बालक र १६५ बालिका थिए। चालु आर्थिक वर्ष २०८३/८४ को साउन १ देखि कात्तिक १८ गतेसम्म १६३ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ६४ महिला, ३३ बालक र ६६ बालिका छन्।
प्रहरीका अनुसार पछिल्लो समय परिवारलाई जानकारी नदिई प्रेमसम्बन्ध र भागी विवाहका कारण भारत जाने महिला तथा बालबालिकाको संख्या उल्लेख्य छ। सीमा नाकामा खटिएका प्रहरीले शंकास्पद अवस्था देखिएमा वा परिवारबाट उजुरी प्राप्त भएमा सोधपुछ तथा आवश्यक अनुसन्धान गरी उद्धार गर्ने गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले बताए।
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि कैलालीको त्रिनगर नाकामा सामाजिक संस्थाहरूले समेत निगरानी गर्दै आएका छन्। भन्सार पुलदेखि सीमा नाकासम्म पाँचवटा संस्थाले महिला तथा बालबालिकाका लागि सोधपुछ कक्ष सञ्चालन गरिरहेका छन्। कैलाली र कञ्चनपुरबाट भारततर्फ आवतजावत गर्नेको संख्या बढी हुनु र सीमा क्षेत्र जोखिमयुक्त मानिनुले निगरानीलाई थप प्रभावकारी बनाउनुपर्ने देखिएको सम्बन्धित संस्थाहरूको भनाइ छ।
शान्ति पुनःस्थापना गृहको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ मा कैलालीको सीमा नाकाबाट ४३१ जनाको उद्धार गरिएको थियो। चालु आर्थिक वर्षको असोजसम्म थप १३८ जनाको उद्धार गरिएको गृहले जनाएको छ। उद्धार गरिएका महिला तथा बालबालिकालाई आवश्यक परामर्श दिने, परिवारसँग पुनर्मिलन गराउने र शोषण वा बेचबिखनमा परेको पाइएमा न्यायका लागि मुद्दा दर्ता प्रक्रियामा सहयोग गर्ने गरिएको शान्ति पुनःस्थापना गृहकी कैलाली संयोजक कैलाशो रानाले बताइन्।
उनका अनुसार उमेर नपुग्दै भागी विवाह गर्ने र रोजगारीको प्रलोभनमा भारत जाने महिला तथा बालबालिका जोखिममा छन्। कतिपय बालबालिका परिवारलाई जानकारी नै नदिई सीमा पार गर्ने भएकाले उनीहरूको अवस्था पहिचान गर्न र सम्भावित जोखिमबाट जोगाउन कठिन हुने गरेको छ। विशेषगरी बालबालिकालाई अपरिचित व्यक्तिको प्रलोभन, शंकास्पद प्रस्ताव र जोखिमपूर्ण यात्राबारे समयमै सचेत गराउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।