कञ्चनपुरमा रोकिएन हात्ती आतंक, रातभर जाग्राम बस्छन् स्थानीय
धनगढीः कञ्चनपुरका विभिन्न बस्तीमा जंगली हात्तीको उपद्रो बढ्दै गएको छ। रातिको समयमा बस्तीमा पस्ने हात्तीको बथानले खेतबारीको अन्नबालीदेखि घरगोठसम्म क्षति पुर्याउन थालेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन्। हात्तीको डरले स्थानीय रातभर जाग्राम बस्न बाध्य छन्। बेलडाँडी र लालझाडी गाउँपालिका तथा कृष्णपुर नगरपालिकाका विभिन्न क्षेत्रमा केही सातायता हात्तीको आवागमन बढेको छ। करिब २५ देखि ३० वटासम्मको बथान रातिको समयमा बस्तीमा पस्ने र खेतीपाती तथा भौतिक संरचनामा क्षति पुर्याउने गरेको स्थानीय बताउँछन्।
कृष्णपुरकी कमलादेवी खड्काले लगाएको बदाम खेती हात्तीले कुल्चेर नष्ट गरिदिएको छ। धानबाली भित्र्याएपछि १० कठ्ठा जमिनमा लगाएको बदाम खेती हात्तीले सखाप पारेको हो। खेती जोगाउन लगाइएको तारजालीसमेत हात्तीले भत्काइदिएको खड्काको भनाइ छ।
हात्तीको बथान करिब दुई दिनको अन्तरालमा बस्तीमा पस्ने गरेको स्थानीय बताउँछन्। घरगोठ भत्काउनेदेखि मानवीय क्षति पुर्याउन सक्ने जोखिम रहेकाले रातभर जाग्राम बस्नुपर्ने बाध्यता रहेको उनीहरूको गुनासो छ।
कृष्णपुरकै शारदादेवी चौधरीको खोरसमेत हात्तीले भत्काएर क्षति पुर्याएको छ। गाउँका अधिकांश युवा रोजगारीका लागि भारत गएकाले घरमा महिला र बालबालिका मात्रै रहने अवस्था रहेको उनी बताउँछिन्। रातिको समयमा हात्ती बस्तीमा पस्न थालेपछि परिवारको सुरक्षालाई लिएर थप चिन्ता बढेको उनको भनाइ छ।
स्थानीय सरिता चौधरीलाई पनि रात पर्नासाथ हात्तीले आफ्नो कच्ची घर भत्काउने हो कि भन्ने डर लाग्छ। माटोले लिपेको कमजोर घरमा बस्दै आएकी उनलाई हात्तीको त्रासले रातभर राम्रोसँग निदाउनसमेत दिँदैन।
हात्तीको बथान बस्तीमा प्रवेश गरेपछि स्थानीयले थाल ठटाउने र होहल्ला गरेर धपाउने प्रयास गर्दै आएका छन्। तर, हात्तीको नियमित आवागमनका कारण उनीहरू ढुक्कसँग घरमा बस्न सक्ने अवस्था छैन।
हात्तीले धानबालीमा क्षति पुर्याउनुका साथै उखु, केरा र अन्य खेतीसमेत नष्ट गर्ने गरेको छ। यसले किसानको आम्दानीमा प्रत्यक्ष असर पारेको छ भने घरगोठमा हुने क्षतिले थप आर्थिक भार सिर्जना गरेको छ।
मानव बस्ती विस्तारसँगै हात्तीको परम्परागत आवागमन मार्ग आसपास मानवीय गतिविधि बढ्नु पनि मानव–हात्ती द्वन्द्वको एउटा कारण मानिन्छ। तर वर्षौंदेखि हात्तीको जोखिम झेल्दै आएका स्थानीयले अहिलेसम्म सुरक्षित रूपमा बस्न पाउने अवस्था नरहेको गुनासो गरेका छन्। जोखिमयुक्त बस्तीको सुरक्षा, पूर्वसूचना प्रणाली र क्षतिपूर्तिको प्रभावकारी व्यवस्था गर्न स्थानीयले माग गरेका छन्। समयमै ठोस उपाय नअपनाइए मानव–हात्ती द्वन्द्वले थप गम्भीर रूप लिन सक्ने उनीहरूको चिन्ता छ।