समितिमा अड्किएका विधेयक अघि बढाउन निवर्तमान मुख्यमन्त्री शाहको चासो
धनगढीः सुदूरपश्चिम प्रदेशसभाको सामाजिक विकास समितिमा लामो समयदेखि विचाराधीन विधेयकहरू अघि बढाउन निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले चासो देखाएका छन्। शाह र प्रदेशसभाको सामाजिक विकास समितिका सभापति धर्मराज पाठकबीच समितिमा रोकिएका विधेयकहरूको दफावार छलफल शीघ्र सम्पन्न गरी प्रदेशसभामा पेश गर्ने विषयमा छलफल भएको हो।
छलफलका क्रममा लामो समयदेखि समितिमा विचाराधीन विधेयकहरूलाई प्राथमिकताका साथ अघि बढाएर प्रदेशसभाबाट पारित गरी ऐनका रूपमा जारी गर्ने प्रक्रिया तीव्र बनाउनुपर्नेमा जोड दिइएको छ। शाह नेतृत्वको तत्कालीन सरकारले २०८१ चैत ३ गते ‘टीकापुर विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र २०८२ जेठ २१ गते ‘सुदूरपश्चिम प्रदेश बरघर र भलमन्सा प्रथा संरक्षण तथा विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रदेशसभा सचिवालयमा दर्ता गराएको थियो।
लामो समयसम्म यी विधेयक सदनको प्रक्रियामा अघि नबढेपछि २०८३ वैशाख १७ गते नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले अविलम्ब छलफल प्रक्रिया अघि बढाउन सभामुखको ध्यानाकर्षण गराएको थियो। त्यसपछि प्रदेशसभाको आठौँ अधिवेशनको दोस्रो बैठकमा जेठ ११ गते दुवै विधेयक टेबल गरिएका थिए। जेठ २० गते सामान्य छलफल भएपछि जेठ २६ गते दफावार छलफलका लागि सामाजिक विकास समितिमा पठाइएको थियो।
तर, समितिमा पुगेपछि पनि विधेयकहरूले अन्तिम रूप पाउन सकेका छैनन्। अहिले यी दुईसहित समितिमा विचाराधीन अन्य विधेयकहरूलाई समेत शीघ्र टुङ्ग्याएर प्रदेशसभामा पठाउनुपर्ने विषयमा शाह र सभापति पाठकबीच छलफल भएको हो।