कैलालीबाट लागुऔषधसहित एकै दिन ८ जना पक्राउ
धनगढीः कैलालीको विभिन्न स्थानबाट लागुऔषधसहित एकै दिन ८ जना पक्राउ परेका छन्।
जिल्लाको भजनी नगरपालिका–३ मरियाघाटबाट अवैध लागूऔषध ब्राउनसुगर ७ सय २० मिलिग्रामसहित टीकापुर नगरपालिका–३ बस्ने १९ वर्षीय सुमित सुनार र २० वर्षीय अभिषेक बिक पक्राउ परेका छन्। दुबै जनालाई इलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट खटिएको प्रहरी टोलीले बुधबार दिउँसो से ४ प ७२४२ नम्बरको मोटरसाइकलमा भारतबाट नेपाल तर्फ आँउदै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ।
यसैगरी, भजनी नगरपालिका–५ पगियापसारबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम १ सय १० मिलिग्रामसहित सोही ठाउँ बस्ने २१ वर्षीय दिपक बुढा र १७ वर्षीय किशोरलाई इलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ से ७ प ७४२ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ।
यसैगरी, धनगढी उपमहानगरपालिका–८ बुद्धचोकबाट अवैध लागूऔषध ब्राउनसुगर ४ सय ४० मिलिग्रामसहित जोशीपुर गाउँपालिका–१ बस्ने २९ वर्षीय नराज चौधरी, २१ वर्षीय अनुप चौधरी, १८ वर्षीय किशोर र धनगढी उपमहानगरपालिका–३ बस्ने २२ वर्षीय प्रेम चौधरी पक्राउ परेका छन्। चारै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले गएराति चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।