रामारोशनको किनिमिनी मैदानमा क्रिकेट प्रतियोगिता हुँदै
अछामः सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित अछामको रामारोशन क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य लिएर ऐतिहासिक क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ।
शुभ दीपावली तथा छठ पर्वको पावन अवसर पार्दै रामारोशन गाउँपालिका–५ स्थित किनिमिनी पाटनमा ‘रामारोशन प्रिमियर लिग (सिजन–२)’ खुला क्रिकेट प्रतियोगिता सञ्चालन हुन लागेको हो। रामारोशन एड्भेन्चर एन्ड इको स्पोर्ट क्लबको आयोजनामा हुन लागेको यो प्रतियोगिता यही कात्तिक १३ गतेदेखि सुरु हुने आयोजक क्लबका अध्यक्ष लक्ष्मण बोहराले जानकारी दिए।
रामारोशनको प्राकृतिक सुन्दरता र शान्त वातावरणलाई खेलकुदका माध्यमबाट देश–विदेशमा चिनाउन यो प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए। यस प्रतियोगितालाई अछामको इतिहासमै सबैभन्दा ठूलो धनराशिको क्रिकेट प्रतियोगिताका रूपमा अघि सारिएको छ। प्रथम हुने टोलीलाई मेडल प्रमाणपत्रसहित दुई लाख र दोस्रो हुने टोलीलाई मेडल प्रमाणपत्रसहित एक लाख प्रदान गर्ने आयोजकले जनाएको छ।
आयोजकका अनुसार प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्ला तथा देशभरिका क्रिकेट क्लबहरूले सहभागिता जनाउने छन्। हिमालका सुन्दर ताल, विशाल पाटन र मनोरम दृश्यहरूबीच हुने यस प्रतिस्पर्धाले आन्तरिक तथा बाह्य पर्यटकहरूलाई पनि आकर्षित गर्ने विश्वास स्थानीयवासी र सरोकारवालाहरूले लिएका छन्।
खेलकुदको उद्घाटनको दिन स्थानीय कला संस्कृति पञ्चेबाजा, देउडा, हुड्क्यौली, भुवो पनि प्रदर्शन हुने र जसले गर्दा पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने विश्वास लिइएको छ। खेलकुद हुन लागेको किनिमिनी मैदान रामारोशन क्षेत्रकै सबैभन्दा ठूलो घाँसेमैदान हो।
खेलकुद प्रतियोगिता आयोजनाका लागि क्लबले रामारोशन गाउँपालिका, रामारोशन पर्यटन विकास समितिलगायत विभिन्न स्थानीय तह र सहयोगीदाताबाट आर्थिक रकम सङ्कलन भइरहेको क्ल्बले जनाएको छ। रामारोशन क्षेत्र पछिल्लो समय पेसा–व्यवसायमा व्यस्त भई चाडपर्वको समयमा गाउँ आएका व्याक्तिहरुका लागि पर्यटकीय गन्तव्य बनेको छ।
त्यस्तै, रामारोशनमा पारिवारिक भ्रमण, संस्थागत भ्रमणमा आउनेहरुको पहिलो रोजाइको गन्तव्य रामारोशन हो। अहिले दैनिक जसो सयाँैको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरु रामारोशन घुम्न आउने गरेका छन्। ठाउँ सुन्दर ,रमणिय र मनमोहक भएता पनि पर्याप्त पूर्वाधार बन्न नसकेको र पर्यटन क्षेत्रमा आउने जयगढ–रामारोशन सडक खण्ड निर्माण नहँुदा निकै सास्ती खेप्नु परेको पर्यटकहरुले गुनासो गर्ने गरेका रामारोशन पर्यटन विकास समितिका कार्यकारी अधिकृत पूर्णबहादुर विकले बताए।
रामारोशनलाई पहिलो गन्तव्य बनाएर धेरै जसो पर्यटकहरु पोखरा, चितवन, काठमाडौँ र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट पर्यटकहरु घुम्न आउने गरेका विकको भनाइ छ। ‘बाह्र बण्ड अठार खण्ड’ का नामले प्रसिद्ध रामारोशनमा १२ ठूल्ठूला तालहरु र १८ वटा ठूला घाँसेमैदान रामारोशनका आकर्षण हुन्। रामारोशन धार्मिक र पर्यटकीय रुपमा निकै महत्वपूर्ण क्षेत्र मानिन्छ। धार्मिक रुपमा रामारोशन क्षेत्रमा विभिन्न देवीदेवताहरुको बास भएको र प्राचीन कालमा शिवपार्वतीले रामारोशनमा तपस्या गरेको किंवदन्ती रहेको छ। त्यसैले रामारोशनलाई देव, पुण्यभूमि पनि भनिन्छ।