सुदूर नेपाललाई विश्वसँग जोड्दै

फूलले थप्यो धनगढीको सुन्दरता, फेरिँदै सार्वजनिक स्थलको स्वरूप

२०८३ कार्तिक ८, ०४:३१ लक्ष्मण ढुङ्गाल

धनगढीः धनगढीका पुष्पराज जोशी उपमहानगर क्षेत्रका सार्वजनिक स्थल र सडक छेउमा फुलेका फूल देखेर निकै खुसी छन्। फूलले वातावरणलाई सुन्दर बनाउनुका साथै शीतलता प्रदान गरेको उनको भनाइ छ। हरियाली र फूलले भरिएको नगरमा पुग्दा मनै लोभिने गरेको उनी बताउँछन्। 

त्यस्तै, धनगढीको फूलबारीमा बस्दै आएकी मनकुमारी तामाङ पनि सहरमा फुलेका फूलले मन प्रफुल्लित बनाउने गरेको बताउँछिन्। विगतमा फोहोर देखिने कतिपय ठाउँ अहिले फूलले सजिएका छन्। धनगढीका गल्ली र बजार क्षेत्रमा फुलेका फूलले सहरको स्वरूप नै आकर्षक बनाएको उनको अनुभव छ।

धनगढीकी शोभा कुँवर पनि फूलले मनलाई शान्त र शीतल बनाउने बताउँछिन्। सडक तथा सार्वजनिक स्थानमा फुलेका फूलले नागरिकको ध्यान खिच्नुका साथै वातावरण सफा र सुन्दर राख्न प्रेरित गरेको उनको भनाइ छ। ‘धनगढीले हरियाली र सरसफाइलाई प्राथमिकता दिँदै छुट्टै पहिचान बनाउँदै गएको छ,’ उनी भन्छिन्। 

फूलको सुन्दरतामा रमाउने मात्र होइन, तस्बिर खिच्ने, टिकटक बनाउने र सामाजिक सञ्जालमा साझा गर्नेहरू पनि उत्तिकै देखिन्छन्। फूलले सजिएका सार्वजनिक स्थल अहिले नागरिकका लागि तस्बिर खिच्ने र केही समय रमाउने आकर्षक स्थान बनेका छन्।

धनगढी उपमहानगरपालिकाले अघि सारेको ‘हाम्रो धनगढी, सफा धनगढी’ अभियानलाई निरन्तरता दिँदै सार्वजनिक स्थलको सरसफाइ र हरियाली प्रवर्द्धनमा निरन्तरता दिनुपर्ने स्थानीयवासीको बुझाइ छ। ‘कुनै समय फोहोर र अव्यवस्थित देखिने ठाउँहरू अहिले रंगीचंगी फूलले सजिन थालेका छन्,’ धनगढीका इन्द्र चौधरीले भने, ‘सडकका गल्लीदेखि बजार र सार्वजनिक स्थलसम्म ढकमक्क फुलेका फूलले धनगढीको मुहार फेरिँदै छ। पहेँला फूलले झकिझकाउ बनेका सार्वजनिक स्थलले सहरको सौन्दर्य मात्रै बढाएका छैनन्, स्थानीयवासी र आवतजावत गर्नेहरूलाई समेत केहीबेर रोकिएर रमाउन लोभ्याउन थालेका छन्।’

उपमहानगरपालिकाले सहरमा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न स्थानमा रोपेका बोटबिरुवा र फूल फुलेपछि रौनक थपिएको हो। 

लक्ष्मण ढुङ्गाल, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस