सुदूर नेपाललाई विश्वसँग जोड्दै

मानव बस्ती विस्तारले खुम्चिँदै वन्यजन्तुको मार्ग, बढ्दैछ द्वन्द्व

२०८३ कार्तिक ८, १०:५६ खबर संवाददाता

धनगढीः सुदूरपश्चिमका विभिन्न क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट मानिसको ज्यान जाने र मानवीय गतिविधिले वन्यजन्तु पनि मारिने घटना दोहोरिरहेका छन्। तर, यी घटनाको कारण वन्यजन्तु बस्तीमा पस्नु मात्रै होइन, उनीहरू हिँड्ने परम्परागत बाटो र बासस्थानमा मानव अतिक्रमण बढ्नु पनि हो। वन संरक्षणकर्मीहरूका अनुसार भारतको दुधुवा राष्ट्रिय निकुञ्जदेखि नेपालको लालझाडी वन हुँदै चुरे क्षेत्रसम्म वन्यजन्तुको आवागमन हुने गरेको छ। कैलाली र कञ्चनपुरको मोहना–लालझाडी क्षेत्र हात्ती तथा बाघलगायत वन्यजन्तुको महत्त्वपूर्ण जैविक मार्ग हो। तर, वन्यजन्तु ओहोरदोहोर गर्ने यही मार्गमा सडक, बस्ती र अन्य संरचना विस्तार हुँदा उनीहरूको आवागमन प्रभावित भएको छ। जंगलमा आहारको अभाव र परम्परागत मार्गमा बढ्दो अवरोधले मानव–वन्यजन्तु द्वन्द्व चर्किंदै गएको संरक्षणकर्मीहरूको भनाइ छ। धनगढी उपमहानगरपालिका–३ का वडाध्यक्ष तथा वन संरक्षणकर्मी राजबहादुर ऐरका अनुसार मोहना नदी आसपास हात्ती लगायतका वन्यजन्तु देखिनु नयाँ घटना होइन। वन्यजन्तु पहिलेदेखि नै प्रयोग गर्दै आएको मार्गमा मानव बस्ती विस्तार हुँदा अहिले द्वन्द्व बढिरहेको उनी बताउँछन्। 

सामुदायिक वन समन्वय समितिका संस्थापक अध्यक्ष तथा सुदूरपश्चिम प्रदेशसभाका पूर्वसदस्य महेशदत्त जोशी पनि जैविक मार्गमा बढेको अवरोधलाई मानव–वन्यजन्तु द्वन्द्वको प्रमुख कारण मान्छन्। तीन दशकदेखि लालझाडी जैविक मार्गको संरक्षणमा काम गर्दै आएका जोशीका अनुसार पहिले वन्यजन्तुको आवागमन सहज हुने क्षेत्रमा अहिले बस्ती विस्तार भएका छन्। ‘कहिले हात्ती लालझाडीमा, कहिले हात्ती दाङमा भन्ने त गीत नै छ। यसबाट पनि लालझाडी र दाङमा हात्तीको आवागमन पुरानै हो भन्ने पुष्टि हुन्छ,’ जोशी भन्छन्, ‘तर अहिले मानव बस्ती विस्तार हुँदा विभिन्न ठाउँमा जैविक मार्गको सम्पर्क टुटेको छ।’

दुधुवाबाट नेपालतर्फ वन्यजन्तु आउने प्रमुख मार्गमध्ये कञ्चनपुरको डोकेबजार क्षेत्र पनि एक हो। तर, अहिले डोकेबजारमा ठूलो बस्ती बसिसकेको छ। जोशीका अनुसार कञ्चनपुरको करिब १३० किलोमिटर सीमा भारतसँग जोडिएको छ। सीमावर्ती निकुञ्ज तथा संरक्षण क्षेत्रमा बसोबास गर्ने वन्यजन्तुका लागि पनि यो सीमा प्राकृतिक आवागमनको महत्त्वपूर्ण क्षेत्र हो। तर, बसाइँसराइका लागि प्रयोग हुने धेरै मार्गमा मानव बस्ती विस्तार हुँदा वन्यजन्तुको आवागमन प्रभावित भएको छ। दुधुवा राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र लालझाडी करिडोर आसपास वन्यजन्तुको आवागमन हुने गरेको छ। उनीहरूका परम्परागत मार्गमा बस्ती विस्तार हुँदा वन्यजन्तु खेतबारी तथा मानव बस्तीतर्फ पुग्ने र त्यसबाट धनजनको क्षति हुने गरेको जोशी बताउँछन्। 

मोहना–लालझाडी करिडोर बाघको आवागमनका लागि पनि महत्त्वपूर्ण क्षेत्र हो। भारतको दुधुवा राष्ट्रिय निकुञ्जमा डमरु जन्माएपछि त्यसलाई भाले बाघबाट जोगाउन सुरक्षित स्थान खोज्दै पोथी बाघ नेपालतर्फ आउने गरेको संरक्षणकर्मीहरू बताउँछन्। डमरु हुर्काउने क्रममा पोथी बाघले स्थान परिवर्तन गर्दा कहिले लालझाडी करिडोर त कहिले मोहना नदीको तटीय क्षेत्रसम्म पुग्ने गरेको मोहना–लालझाडी संरक्षित क्षेत्रका पूर्वसचिव तथा लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल राना बताउँछन्। तर, पहिले बाघले प्रयोग गर्ने मार्गमा अहिले बस्ती विस्तार हुँदा दुधुवाबाट नेपालतर्फ आउजाउ गर्न सहज नभएको उनको भनाइ छ। 

हात्तीको हकमा पनि त्यस्तै्र भएको संरक्षणकर्मी बताउँछन्। हात्तीले सानैदेखि प्रयोग गर्दै आएको मार्ग वृद्धावस्थासम्म पनि प्रयोग गर्ने गर्छ। खानेकुरा र खनिज पाइने स्थानबारे हात्तीलाई स्मरण रहने भएकाले परम्परागत मार्गमा अवरोध हुँदा द्वन्द्व बढ्ने गरेको उनीहरु बताउँछन्।

कमेन्ट लोड गर्नुस