लोक सेवा तयारी गरिरहेका अछामका युवक सुर्खेतमा मृत फेला
धनगढी: सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–८, रंगशाला क्षेत्रमा डेरा गरी बस्दै आएका २६ वर्षीय युवक मृत फेला परेका छन्।
अछामको रामारोशन गाउँपालिका–५ घर भएका राजेन्द्र रोकाया वीरेन्द्रनगर–८ निवासी नवीनकुमार केसीको घरमा मृत फेला परेका हुन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार रोकाया बिहीबार बिहान आफू बस्दै आएको कोठामा झुन्डिएको अवस्थामा फेला परेका थिए।
उनी विगत एक वर्षदेखि लोक सेवा आयोगको परीक्षाको तयारीका लागि उक्त घरमा डेरा गरी बस्दै आएका थिए।
घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षक श्यामप्रकाश यादवको कमान्डमा सोको (SOCO) सहितको प्रहरी टोली परिचालन गरिएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक यादवले जानकारी दिएका छन्।