सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा सुरक्षाकर्मीले कार्यस्थलमै मनाए दसैँ, डीआईजीले लगाइदिए टीका

२०८३ कार्तिक ४, ०५:४० खबर संवाददाता

धनगढी: विजया दशमीको अवसरमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा टीका तथा जमरा ग्रहण कार्यक्रम भएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) सानुराम भट्टराई र नेपाल प्रहरी श्रीमती सङ्घ सुदूरपश्चिम प्रदेशकी अध्यक्ष मुना भट्टराईले प्रदेश प्रहरी कार्यालय तथा मातहतका कार्यालयमा कार्यरत प्रहरी कर्मचारीलाई टीका तथा जमरा लगाइदिएर दसैँको शुभकामना आदानप्रदान गरेका हुन्।

चाडपर्वका समयमा पनि नागरिकको सुरक्षा र सेवामा खटिनुपर्ने भएकाले धेरै प्रहरी कर्मचारी घरपरिवारबाट टाढा रहेर जिम्मेवारी निर्वाह गरिरहेका हुन्छन्। उनीहरूको मनोबल उच्च राख्न तथा आपसी सद्भाव, भाइचारा र आत्मीयता अभिवृद्धि गर्न कार्यालयमै टीका तथा जमरा लगाएर दसैँ मनाइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

सोअवसरमा प्रदेश प्रहरी कार्यालयले सम्पूर्ण प्रहरी कर्मचारी तथा आम नागरिकमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना व्यक्त गरेको छ।

कमेन्ट लोड गर्नुस