सुदूर नेपाललाई विश्वसँग जोड्दै

दसैंमा दुःखमा रहेका दुई परिवारलाई सामाजिक अभियन्ताको सहयोग

२०८३ कार्तिक ४, ०४:२८ खबर संवाददाता

धनगढीः दसैंको रौनकले गाउँदेखि सहरसम्म छोइरहँदा आर्थिक अभावका कारण चाडपर्वको खुसीबाट वञ्चित दुई परिवारलाई सामाजिक अभियन्ताहरूले सहयोग गरेका छन्।

कैलालीको धनगढी उपमहानगरपालिका–१ की इन्द्रा दमाई र वडा नम्बर ३ की रानी थरुनीलाई खाद्यान्न, लत्ताकपडा तथा दैनिक जीवनयापनका लागि आवश्यक सामग्री सहयोग गरिएको हो।
केही दिनअघि दिनेशखबरले आर्थिक अवस्था कमजोर हुँदा परिवारको गुजारा चलाउनसमेत कठिनाइ भोगिरहेका इन्द्रा दमाई र रानी थरुनीको अवस्थाबारे समाचार प्रकाशन गरेको थियो। उक्त समाचारपछि उनीहरूको अवस्थाप्रति सामाजिक अभियन्ताहरूको ध्यानाकर्षण भएको हो।
नेपाल परिवार दलका सुदूरपश्चिम प्रदेश संयोजक खडक नागरीले इन्द्रा दमाईको परिवारलाई लत्ताकपडा, खाद्यान्न, कुखुरा, फलफूललगायतका सामग्री हस्तान्तरण गरेका थिए। आर्थिक अभावका कारण दुई छाक खानसमेत समस्या भोगिरहेको परिवारलाई दैनिक उपभोग्य सामग्री सहयोग गरिएको हो।

सहयोगले दैनिक जीवनयापनमा सहजता थपिएको र दसैं मनाउनसमेत राहत पुगेको इन्द्रा दमाईले बताइन्।
यस्तै, काठमाडौं निवासी सामाजिक अभियन्ता मिंमा दोर्जे शेर्पाको सहयोग तथा सामाजिक अभियन्ता लक्ष्मीकुमारी बोगटीको पहलमा रानी थरुनीलाई खाद्यान्न, मासुलगायतका आवश्यक सामग्री र दुईवटा सुत्ने खाट सहयोग गरिएको छ। सहयोगले आफूलाई ठूलो राहत मिलेको रानीले बताइन्।
सामाजिक अभियन्ता शेर्पाले देशका विभिन्न स्थानमा समस्यामा परेका तथा सहाराको आवश्यकता भएका व्यक्तिहरूलाई सहयोग गर्दै आएका छन्। सुदूरपश्चिमकी चेलीसमेत रहेकी बोगटीको पहलमा यस क्षेत्रका न्यून आय भएका परिवारले पनि सहयोग पाउन थालेका हुन्।

धनगढी उपमहानगरपालिका–१ स्थित मनकापुर शिविरमा बस्दै आएकी इन्द्रा दमाईको घर पूर्ण रूपमा भत्किएर बस्नसमेत अयोग्य अवस्थामा छ। आर्थिक अभावका कारण घर मर्मत गर्न नसकेको उनको परिवारका लागि धनगढी उपमहानगरपालिकासँग समन्वय गरी शेर्पाको पूर्ण आर्थिक सहयोगमा नयाँ घरटहरा निर्माण गर्ने तयारी भइरहेको सामाजिक अभियन्ता बोगटीले बताइन्।
बोगटीले धनगढी उपमहानगरपालिकाका सबै वडामा रहेका न्यून आय भएका तथा समस्यामा परेका नागरिकको पहिचान गरी तीनै तहका सरकारले प्रभावकारी रूपमा सहयोग गर्नुपर्नेमा जोड दिइन्। चाडपर्वका बेला आर्थिक अभावका कारण कसैले पनि निराशा र अभाव भोग्न नपरोस् भन्दै उनले देश तथा विदेशमा रहेका नेपालीलाई पनि आवश्यकतामा परेका परिवारलाई सहयोग गर्न अनुरोध गरिन्।

कमेन्ट लोड गर्नुस