धनगढी–अत्तरिया रुटमा दसैँको दिन नवजीवन अस्पतालको निःशुल्क बस सेवा
धनगढी: दसैँको अवसरमा कैलालीको धनगढी र अत्तरिया क्षेत्रमा यात्रुहरूलाई सहज आवागमनको व्यवस्था गर्न निःशुल्क बस सेवा सञ्चालन हुने भएको छ।
जिल्ला ट्राफिक कार्यालय कैलालीको समन्वयमा नवजीवन अस्पताल प्रालिले विजयादशमीका दिन अर्थात् कात्तिक ४ गते धनगढी र अत्तरिया रुटमा निःशुल्क बस सेवा सञ्चालन गर्न लागेको हो।
अस्पतालका अनुसार बस सेवा बिहान ८:३० बजेदेखि सुरु हुनेछ। बस डोकेबजारदेखि अत्तरिया र अत्तरियादेखि डोकेबजारसम्म सञ्चालन हुने अस्पतालका कार्यकारी निर्देशक चक्र कठायतले जानकारी दिए।
दसैँका दिन यात्रुहरूलाई सहज रूपमा गन्तव्यसम्म पुग्न सहयोग पुर्याउने उद्देश्यले निःशुल्क बस सेवा सञ्चालन गर्न लागिएको उनले बताए। अस्पतालले उक्त सेवाबाट लाभ लिन सर्वसाधारणलाई आग्रह गरेको छ।