आश्विन शुक्ल नवमी : महानवमी पर्व मनाइँदै
काठमाडौँ: आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी देशभर मनाइँदैछ। नवरात्रको नवौँ दिनका रूपमा मनाइने यस पर्वमा विभिन्न देवी मन्दिर तथा शक्तिपीठमा भक्तजनको घुइँचो लागेको छ।
महानवमीका अवसरमा घटस्थापनाका दिन स्थापना गरिएको जमरा विभिन्न शक्तिपीठमा चढाउने परम्परा छ। दसैँघर, कोत तथा राज्यका विभिन्न देवी मन्दिरमा दुर्गा भवानीको विशेष पूजा आराधना गरिनुका साथै दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गरिन्छ। परम्पराअनुसार कतिपय स्थानमा बोका, हाँस, कुखुरा तथा राँगाको बलिसमेत दिइन्छ।
पशुबलि नदिने तथा शाकाहारी भक्तजनले कुभिण्डो, घिरौँला, मूला, काँक्रो र जटा नरिवललाई बलिका रूपमा अर्पण गर्ने चलन छ। यस अवसरमा पायससमेत चढाइन्छ। केही स्थानमा महाअष्टमीका दिन बलि दिने र महानवमीका दिन मार हान्ने परम्परा पनि कायम छ। कतिपय शक्तिपीठमा हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने प्रचलन छ।
मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमीकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसको वध गरेकाले यस पर्वलाई विशेष धार्मिक महत्त्वका साथ लिने गरिन्छ।
नवरात्रको अन्तिम दिनका रूपमा आज पूजा कोठा तथा दसैँघरमा नवदुर्गामध्ये नवौँ देवी सिद्धिदात्रीको विधिपूर्वक पूजा आराधना गरिन्छ। दुर्गाको प्रतीकका रूपमा कन्याको पूजा गरी दक्षिणा दिने परम्परा पनि छ। यस दिन महाकाली, महालक्ष्मी र महासरस्वतीको समेत विशेष पूजा गरिन्छ।
महानवमीका अवसरमा विभिन्न कोतमा हर्षबढाइँसहित कोतपूजा तथा निशानापूजा गर्ने चलन छ। हनुमानढोका दरबारलगायत नेपाली सेनाका ब्यारेक तथा गुल्ममा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गरिन्छ।
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिरमा भक्तजनको घुइँचो
काठमाडौँको हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर महानवमीका अवसरमा आज बिहान ५ बजेदेखि सर्वसाधारणका लागि खुला गरिएको छ। वर्षमा एकपटक महानवमीका दिन मात्रै खुल्ने यस मन्दिरमा दर्शनका लागि भक्तजनको आवागमनलाई व्यवस्थित गर्न आवश्यक तयारी पूरा गरिएको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ।
दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानका अनुसार मन्दिर आज साँझ ६ बजेसम्म खुला रहनेछ।
तलेजु भवानीलाई फूलपातीका दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको थियो। विजयादशमीका दिन बिहान मात्रै देवीलाई पुनः मूल मन्दिरमा फर्काइने जनाइएको छ।
यसअघि सोमबार महाअष्टमीको राति मूलचोकमा तान्त्रिक विधिअनुसार कालरात्रि पूजा गरिएको थियो। राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने सङ्कल्पसहित गरिएको उक्त पूजामा ५४ बोका र ५४ राँगाको बलि दिइएको दरबार हेरचाह अड्डाले जनाएको छ।